प्रहरी समायोजनको बाटो खुल्यो

रेडियो कान्तिपुर संवाददाता

आश्विन १, २०७६ | काठमाडौं

मुलुक संघीयतामा गएको लामो समयपछि बल्ल प्रहरी समायोजनको बोटो खुलेको छ । प्रहरी समायोजनसँग सम्वन्धित दुई वटा विधेयक संघीय संसदका दुबै सदनबाट पारित भएसँगै प्रहरी समायोजनको बाटो खुल्ला भएको हो ।

प्रतिनिधि सभामा उत्पति भएका नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय विधेयक तथा प्रहरी समायोजन विधेयक राष्ट्रिय सभाले सामान्य संशोधन गरी प्रतिनिधि सभामा पठाएको थियो । राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधि सभाले स्वीकृत गरेसँगै प्रमाणिकरणको बाटो खुलेको हो ।

दुबै विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेको एक सातापछि कार्यान्वयनमा आउने छ । प्रतिनिधि सभाले तत्काल कार्यान्वयन हुनेछ भनेर पारित गरेपनि संशोधनको क्रममा राष्ट्रिय सभाले प्रमाणिकरण भएको एक सातापछि कार्यान्वयन हुनेछ भन्ने प्रावधान राखेको छ । दुबै विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएर कार्यान्वयनमा आएपछि प्रहरी समायोजन गरी अपुग भएको अवस्थामा प्रदेशले नै नियुक्त गर्ने पाउनेछन् । 

यस्तै वातावरण संरक्षण विधेयक र वन विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधि सभाले स्वीकृत गरेको छ । राष्ट्रिय सभाले गरेको समान्य संशोधन प्रतिनिधि सभाको आजको दोस्रो बैठकले स्वीकृत गरेको हो । प्रतिनिधि सभाको अर्को बैठक भोलि विहान ११ बजेका लागि बोलाइएको छ ।


प्रतिक्रिया