मदिरा भट्टीमा डुबेर एक नबालिका सहित ५ जनाको 

आश्विन १६, २०७६ | सिमरा

बाराको फेटा गाउँपालिका ४ बतरास्थित एक मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर एक नबालिका सहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मदिरा भट्टी सञ्चालक करीब ४० वर्षीय जोगा मुखिया बीन, उनकी १२ वर्षीया छोरी सुमन कुमारी बीन, भाई ३५ वर्षीय महेन्द्र मुखिया बीन, महेन्द्रकी पत्नी ३० वर्षीया लालमुनी देवी बीन र नाम नखुलेको भारतीय नागरिक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक विकासराज खनालले बताउनुभयो ।

खाल्डोमा डुबेका पाँचै जनाको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । उनीहरु सबै राति करीब ८ बजे खाल्डोमा डुबेको स्थानीयलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ । ‘मृतकहरुको शरीरमा चोटपटक वा रगत लागेको देखिदैन,’ प्रहरी उपरिक्षक खनालले भन्नुभयो, ‘मृतक सबैको शव एउटै खाल्डोमा फेला पारिएको हो ।’ उनीहरुको मृत्यु कसरी भएको हो खुल्न नसकेको र घटनाबारे अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।  

मदिरा उत्पादन गर्न घर भित्रै बनाईएको २ वटा ट्यांकी मध्ये पानी रहेको ट्यांकीमा उनीहरु डुबेको प्रहरीले जनाएको छ । एउटा ट्यांकी मदिरा बनाउने कालो मिठा (गुड) ले भरिएको देखिन्छ । उनीहरुले हुक लगाएर बत्ती बाल्ने गरेको देखिएको घटनास्थलमा पुगेका बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणी पोखरेलले बताउनुभयो ।

जोगा परिवारले लामो समय देखी घरमै मदिरा भट्टी संचालन गरी घरेलु मदिरा उत्पादन गर्दै आएको खुलेको उहाँले बताउनुभयो । उहाँका अनुसार १५ दिन अगाडी प्रहरीले उक्त मदिरा भट्टी भत्काई मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको थियो । त्यस पछि पुन: उनीहरुले मदिरा बनाउन भट्टी र कच्चा पदार्थ तयार गर्ने तिर लागेको देखिन्छ । 

 


प्रतिक्रिया