‘१२ लाखको पटाका सहित ३ पक्राउ’

आश्विन १७, २०७६ | सिमरा

बाराको कलैया उपमहानगरपालिका १३ छोटकी फूलबरियाबाट ठूलो परिमाणको पटाका सहित ३ जना पक्राउ परेका छन् । भारतबाट अवैध रुपले नेपाल भित्र्याउँदै गरेको १२ लाख रुपैयाँ मूल्य बराबरको पटाखा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले जिल्ला प्रहरी कार्यालय बाराले आज पत्रकार सम्मेलन गरी बरामद भएको पटाखा, जिप र पक्राउ परेका मानिसलाई सार्वजनिक गरेको हो । 

जितपुर सिमरा उपमहानगरपालिका १८ बडहर्वा बस्ने २० वर्षीय सुकमान लामा, कलैया उपमहानगरपालिका १ का २० वर्षीय विरेन्द्र यादव र १८ वर्षीय रुपेश दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक विकासराज खनालले बताउनुभयो । उनीहरुले कार्टुनमा प्याक गरी ना ४ च ६९५९ नम्बरको जिपमा लुकाईछिपाई नेपाल भित्र्याउँदै गरेको अवस्थामा छोटकी फूलबरियाबाट पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई गाडी सहित पक्राउ गरेको हो । 

‘सीमा नाकामा कडाई गरिएपछि उनीहरुले चोर नाकाबाट गाडीमा राखेर पटाखा भित्र्याएका हुन,’ प्रहरी उपरिक्षक खनालले भन्नुभयो, ‘जिल्लाको सबै नाकामा तस्करी रोक्न कडा सुरक्षा पारेका छौं ।’ 

कडाई गरेकै कारण फलस्वरुप ठूलो परिमाणमा पटाखा सहित चोरी तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको उहाँले दाबी गर्नुभयो । सीमा क्षेत्रमा रहेका मातहतका सबै प्रहरी युनिटलाई चोरी तस्करी रोक्न निर्देशन समेत दिईएको उहाँले जानकारी दिनुभयो । 

 

पटाखा सहित पक्राउ परेकाहरु उपर मुलुकी अपराध संहित २०७४ को विष्फोटक पदार्थ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

हिन्दूहरुको महान चाड दशै, तिहार, दिपावली र छठमा बालबालिकाहरुले पटाखा पडकाउने गर्छन । त्यही मौकामा पटाखा बिक्री गर्न यसरी ठूलो परिमाणमा पटाखा भित्र्याएको अनुमान प्रहरीले गरेको छ । 

 


प्रतिक्रिया