सामान्य विवादमा परिवारमाथि आक्रमण, एकको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

आश्विन ३०, २०७६ | मकवानपुर

आफ्नो कुरा काटेको र विभिन्न किसिमका आरोप लगाएको भन्दै धारिलो हतियार प्रयोग गरी मकवानपुरमा एक जनाको हत्या गरिएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

परिवारको तीनै जनाको ज्यान मार्ने उद्देश्यले बुधबार साँझ करीब सात बजे खकुरी र बञ्चरो अन्धाधुन्ध प्रहार गरी एक जनाको हत्या गरेको र दुई जनालाई घाइते बनाएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहका अनुसार बकैया गाउँपालिका–३, जलजलेस्थित घरमै बसिरहेकी ५० वर्षीया सन्तमाया लोलाई सोही ठाउँमा बस्ने ५० वर्षीय सुकबहादुर पाख्रिनले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

घाइते सन्तमायाको उपचारको क्रममा हेटौंडास्थित चुरेहिल अस्पतालमा मृत्यु भएको हो । पाख्रिनले प्रहार गरेको धारिलो हतियारबाट मृतकका पति ५५ वर्षीय कालबहादुर लो र स्थानीय २६ वर्षीया दिबिमाया मोक्तान घाइते भएका छन् । घाइतेहरुको टाउको, निधारमा चोट रहेको र घाइते दुबैको हेटौंडा–११, थानाभर्‍याङस्थित चुरेहिल अस्पतालमा उपचार भइरहेका छ ।

‘घटना स्थलबाट प्रहरी टोली अझै फर्किएको छैन । त्यसपछि थप घटनाबारे थाहा हुनेछ ।’ प्रहरी उपरीक्षक सिंहका अनुसार आपसी झै झगडाकै क्रममा धारिलो हतियार प्रयोग भएको प्रारम्भिक अनुमान गरिएको छ ।

हत्यामा संलग्न पाख्रिनलाई इलाका प्रहरी कार्यालय फापरबारीबाट गएको टोलीले हतियार सहित पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको उपरीक्षक सिंहले जानकारी दिनुभयो ।


प्रतिक्रिया