मंसिरमा हुने उपनिर्वाचन बिथोल्ने चन्द समूहको रणनीति 

रेडियो कान्तिपुर संवाददाता

कार्तिक १, २०७६ | दाङ

प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले आगामी मंसिर १४ गतेका लागि तोकेको उपनिर्वाचन बिथोल्ने गरी गतिविधि अगाडि बढाएको पाईएको छ । उपनिर्वाचन आउन साढे एक महिना मात्र बाँकी रहेका समय चन्द समूह, योजना बनाउन व्यस्त रहेको प्रहरीले निष्कर्ष छ ।

दाङको राजपुर गाउँपालिका–४ मुङग्रेठास्थित ज्ञानेन्द्रविक्रम रानाको घरबाट हिजो पक्राउ परेका २१ जना केन्द्रीय नेता/कार्यकर्ताले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन बिथोल्ने रणनीतिका साथ जंगलको बस्तीमा बैठक आयोजना गरेको प्रहरीलाई बयान दिएका छन् । बैठक सकेर मुङग्रेठास्थित दुईवटा घरमा सुतिरहेका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज एवं नेत्रविक्रम चन्दका सहोदर जेठा दाजु चन्द्रबहादुर सहित २१ जनालाई प्रहरीले पक्राउ गरेको थियो । 

सेन्ट्री बसेका र अर्को एक घरमा सुतेका चन्द समूहका नेताहरु भने भागेको प्रहरीले जनाएको छ । सो समूहले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको यसअघिको निर्वाचन बिथोल्न भन्दै विभिन्न स्थानमा बम विष्फोट सहितको गतिविधि गराएको थियो । 

यसैबीच, प्रहरीले उनीहरुको साथबाट बरामद गरेको हतियार तथा विस्फोटक पदार्थ, राजनीतिक दस्ताबेज, चेकबुक लगायत सामाग्री आज सार्वजनिक गरेको छ । उनीहरुको साथबाट मेड इन यू.एस.ए लेखिएका दुई थान पेस्तोल, चार थान कटुवा पेस्तोल, थ्रिनटथ्री राइफलको ५ राउण्ड गोली, सुतली बम र ३ लाख ८४ हजार ५ सय ३० रुपैयाँ बरामद भएको डीएसपी विनोदविक्रम शाहले बताउनुभयो । 

यसैगरी, २४ थान मोवाइल सेट, केन्द्रीय समितिको ८ औँ पूर्ण बैठकको राजनीतिक प्रस्ताव, पार्टीको परिपत्र, चन्दा संकलनका लागि लेखिएका पत्र, छाप, लेटरप्याड, विभिन्न राजनीतिक दर्शनका किताब, डायरी फेला परेको छ । यस्तै, दिपराज सेर्पालीको नाममा रहेको ग्लोबल आईएमई बैंकको २ थान चेकबुक तथा तिलकबहादुर गुरुङ र सेर्पालीको संयुक्त नाममा रहेको सोही बैंकको २ थान चेक पनि बरामद भएको शाहले जानकारी दिनुभयो । 

बरामद सामाग्री सार्वजनिक गरेपनि प्रहरीले पक्राउ परेका चन्द समूहका नेतालाई भने सार्वजनिक गरेन । पक्राउ परेका २१ नेता/कार्यकर्ताविरुद्व संगठित र राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया