मृतकका परिवारले अझै पाएनन् बीमा रकम 

मंसिर ६, २०७६ | धादिङ

पृथ्वी राजमार्गस्थित बेनीघाट–३ मालिङ्गामा भएको दुर्घटनामा मृत्यु तथा बेपत्ता भएकाका आफन्तले बीमा रकम नपाएको भन्दै आज जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिएका छन् । सर्लाहीबाट काठमाडौ आउँदै गरेको ना ७ ख ७४६९ को बस गत साउन २४ गते बिहान ३ वजे त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा मृत्य भई सनाखत भएका परिवारलाई यातायात व्यवसायी समितिले काजक्रिया खर्च बापत ५० हजारका दरले दिएपनि अरु बीमा रकम पाउन सकेका छैनन् । दुर्घटनामा १० जनाको मृत्यु भएको थियो भने १८ जना यात्रु अझै बेपत्ता छन् । १६ जनाको उद्धार गरिएको थियो ।

दुर्घटना भएको लामो समयसम्म पनि बीमा रकम नपाएपछि जिल्ला प्रशासन कार्यालय, धादिङमा धर्ना दिन आएको ७० वर्षीय परिमल साहले बताउनुभयो । यात्रुको चलानीमै नाम भएको र शव पनि फेला नपरेपछि स्थानीय तहमा मृत्यु दर्ता गरेपनि बीमा कम्पनीले रकम दिन आलटाल गरेको उहाँको गुनासो छ ।

दुर्घटनामा घाईते भएका चालक जीवन विकको काभ्रेस्थित धुलीखेल अस्पताल उपचार भईरहेकोले मुद्दा चलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । धादिङकै गजुरीको घाटबेसीमा २०७४ कार्तिक ११ गते भएको सप्तरी बस दुर्घटनामा मृत्यु भएका ३४ जना र २० जना घाईतेका परिवारले पनि पाउनु पर्ने बीमा र उपचार खर्च हाल सम्म पाएका छैनन् ।  


प्रतिक्रिया