थबाङमा मतदान सुस्त, बाटोमा देखिएनन् मतदाता

मंसिर १४, २०७६ | रोल्पा

रिक्त रहेको रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदका लागि शनिबार बिहानबाट मतदान सुर भएको छ । थबाङस्थित वीर बलभद्र माविमा मतदान स्थल तोकिएकोमा त्यहाँ दुई वटा मतदान केन्द्र तय गरिएको छ ।

बिहानैदेखि थबाङमा शान्तिपूर्ण रुपमा मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहान ७ बजेदेखि मतदान भएकोमा ५ घण्टाको अवधिसम्म (मध्यान्ह १२ बजेसम्म) करीब ६० वटा मत मात्रै खसेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्र क मा ३२ र ख मा २७ मत खसेको जनाएको छ । निर्वाचन केन्द्रका सबै मतदाताको संख्या १ हजार २ सय ७४ छ । 

मतदान सुरु समयदेखि नै केही मतदाताहरु मतदान स्थलमा आइपुगेका थिए । मुख्य निर्वाचन अधिकृत एवं रोल्पा अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीले मतदान स्थलको वातावरण शान्तिपूर्ण रुपमा भएको बताउनुभयो । थबाङ–१ का वडा अध्यक्ष फर्कबहादुर बुढामगरको गत असार ६ मा ब्रेन हृयाम्ब्रेजका कारण काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सो वडामा अध्यक्ष सहित सबै पदाधिकारी नेत्रविक्रम चन्द समूहको नेतृत्व विजयी भएका थिए । यद्यपि, उनीहरु सबैले आफूहरु पार्टीको तर्फबाट नभई ‘स्वतन्त्र’ रुपमा निर्वाचित भएको दाबी गर्दै आएका छन् । हाल उम्मेदवारी फिर्ता लिइसकेका स्थानीय भद्रकुमार झाँझीले अध्यक्ष पदमा निर्वाचन लड्न सदस्य पदबाट राजीनामा दिएका थिए । सबै ५ वटा वडा रहेको थबाङमा १ नम्बर वडा बाहेक सबै पदाधिकारी सत्तापक्षीय नेकपाका पदाधिकारीले जितेका थिए । 

उच्च सुरक्षा व्यवस्था, गाउँ सुनसान :

चन्द समूहको बाक्लो प्रभाव भएको ठानिएको थबाङमा निर्वाचन सुरक्षाको उच्च व्यवस्था मिलाइएको छ । मतदान स्थलको सुरक्षार्थ नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको ठूलो संख्यामा सुरक्षाकर्मी पचिालित छन् । निर्वाचन सुरक्षाका लागि करीब ५ सयको संख्यामा सबै सुरक्षाकर्मी परिचालित भएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

स्रोतका अनुसार चन्द समूहले मतदातालाई घर र गाउँमा रोकेर राखेको आशंकामा सुरक्षा अधिकारीहरु बिहानदेखि सतर्क रहँदै आएका छन् । मतदान स्थल आइपुग्ने बाटोसम्म कतिपय सुरक्षाकर्मी पुग्दै गरेको अधिकारीहरुले बताउनुभयो । 

थबाङमा एक साता अघिदेखि निर्वाचन सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी उपस्थित भइसकेका थिए । निर्वाचन सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङ, सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक कर्णबहादुर बुढामगर लगायत थबाङमा पुगेका छन् । रोल्पा सदरमुकाम लिबाङदेखि निर्वाचन भइरहेको थबाङ ७४ किलोमिटर उत्तरमा पर्छ ।  

चन्द समूहद्वारा निर्वाचन बहिस्कार :

अध्यक्ष पदमा निर्वाचन लड्न वडा सदस्य पदबाट राजीनामा दिएका स्थानीय भद्रकुमार झाँक्रीले अन्तिम अवस्थामा मनोनयन फिर्ता लिएपछि चन्द समूहका समर्थक मतदाताले निर्वाचन बहिस्कार गरेका छन् । स्रोतका अनुसार निर्विरोध रुपमा वडा अध्यक्ष निर्वाचित हुने आशामा स्थानीयको सल्लाहमा चन्द समूह निकट झाँक्रीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए । तर, सत्तारुढ दलका उम्मेदवारले सहयोग नगर्ने निश्चित भएपछि झाँक्री चुनावी प्रतिस्पर्धाबाट पछि हटेका थिए । अध्यक्ष पदका लागि सत्तारुढ नेकपाका तर्फबाट जनकबहादुर बुढामगर र कांग्रेसका तर्फबाट कलम रोकामगर चुनावी प्रतिस्पर्धामा छन् । 


प्रतिक्रिया