भ्रष्टाचार नियन्त्रणमा नीतिगत सुधार आवश्यक : मुख्यमन्त्री गुरुङ

मंसिर २३, २०७६ | पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार संचालन लगायत निकायका प्रणाली खराब भएकाले भ्रष्टाचार बढेको बताउनु भएको छ । भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्ने निकाय र व्यक्तिनै भ्रष्टाचारी भएको भन्दै उहाँले आफैबाट सुधार गर्नुपर्नेमा जोड दिनुभयो । 

भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री गुरुङले यस्तो बताउनु भएको हो । ‘भ्रष्टाचार बढ्नुमा हाम्रो सिस्टम पनि खराब छ’ उहाँले भन्नुभयो, ‘नीति र पद्धतिमा सुधार गर्नुपर्ने आवश्यक छ ।’ 

नेपाली सेना र अदालतमा बढी भ्रष्टाचार हुने भएपनि अख्तियार लगायत निकायले हेर्न नपाउने भन्दै उहाँले यसको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । सेना र प्रहरीले देशको सुरक्षा र शान्ति सुरक्षा कायम गर्ने भएपनि अहिले व्यापार गरेको र त्यहाँ ठूलो भ्रष्टाचार हुने गरेको उहाँको भनाई थियो । कर्मचारीतन्त्रले पनि सरकारलाई सहयोग गर्नुपर्नेमा राजनीति गरेर संस्थागत भ्रष्टाचारमा सहयोग पुर्‍याएको उहाँले आरोप लगाउनुभयो ।  

मुलुकका प्रणाली, संरचना र संस्थाहरुले सही काम नगर्दा भ्रष्टाचार बढेको उहाँले बताउनुभयो । भ्रष्टाचारीले हाइटेक प्रयोग गर्न थालेकाले अब सरकार र शासन प्रणाली पनि इ–गभर्नेन्स र हाइटेकमा जानुपर्ने बेला आएको उहाँको भनाइ थियो । ‘एकपटक मन्त्री भएपछि काठमाण्डौमा घर बन्ने पैसा कहाँबाट आउँछ’ उहाँले भन्नुभयो, ‘भ्रष्टाचारविरुद्ध कडा कानून बनाएर कार्यान्वयन गर्नुपर्‍यो ।’

हाम्रो संविधानले मृत्युदण्डको कल्पना नगरको भन्दै उनले भ्रष्टाचारीलाई आजीवन कारावासको सजाय दिनुपर्ने उहाँको माग थियो । अख्तियार जस्ता आयोगले स्वतन्त्र, निष्पक्ष र स्वायत्त भएर काम गर्न पाए सुशासन भएर भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने उहाँको भनाइ थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यसचिव हरिप्रसाद बस्याल, भ्रष्टाचारविरुद्ध नागरिक निगरानी समूहका अध्यक्ष तिलक पराजुली, सुशासनका लागि नागरिक समाज कास्कीका अध्यक्ष बेदनाथ शर्मा र ट्रान्सपरेन्सी नेपालका पूर्व उपाध्यक्ष आनन्दराज मुल्मीले भ्रष्टाचार विरुद्ध सबै लाग्नु पर्नेमा जोड दिए । 

कान्तिपुरकर्मी परियार पुरस्कृत : 

यसैबीच भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा कान्तिपुरकर्मी दिपक परियार सोमबार सुशासन पत्रकारीता पुरस्कार २०७५ बाट पुरस्कृत भएका छन् । पुरस्कार सुशासनका लागि नागरिक समाज (सुनास) द्वारा संचालित हो । अख्तियारको उक्त कार्यक्रममा मुख्यमन्त्री गुरुङले नगद पुरस्कार, सम्मान पत्र र दोसल्लाले परियारलाई पुरस्कृत गर्नुभयो । 


प्रतिक्रिया