बलात्कारको आरोप खेपिरहेका सिद्धबाबा विरुद्ध तेस्रो पटक म्याद थप

मंसिर २७, २०७६ | काठमाडौं

बलात्कारको आरोप खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत सुनसरीले प्रहरीलाई तेस्रो पटक समय दिएको छ । बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि काठमाडौं पठाएकाले थप अनुसन्धानका लागि १० दिनको म्याद दिन सुनसरी प्रहरीले अदालतसँग अनुमति मागेको थियो । तर, जिल्ला अदालतले तीन दिनको म्याद थप गरेको हो । 

अदालतबाट म्याद थप लगतै प्रहरीले सिद्धबाबालाई पुन: विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना गरेको छ । सिद्धबाबा विरुद्ध अनुसन्धान गर्न प्रहरीले पहिलो ४ तथा दोस्रो पटक ७ दिनको समय पाएको थियो । सुनसरी प्रहरीले एक साता अघि सिद्धबाबाको डीएनए परीक्षणका लागि नमूना संकलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको थियो । 

पीडित महिलाको भेजिनल स्वावसँग सिद्धबाबाको डीएनए म्याच भए/नभएको निर्कोल विधि विज्ञान प्रयोगशालाले गर्नेछ । सो रिपोर्ट प्रहरीले अदालतमा पेश गर्नेछ । पीडित महिलाले आफूलाई सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले गत कार्तिक ४ गते बलात्कार गरेको भन्दै मंसिर १३ गते सुनसरी प्रहरीमा जाहेरी दिएकी हुन् । 


प्रतिक्रिया