स्वास्थ्यकर्मी र उपकरण अभावले सेवा प्रभावित

मंसिर २८, २०७६ | रामेछाप

रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देलको स्वास्थ्य चौकीमा कर्मचारी र श्रोत साधन नहुँदा सेवा प्रभावित भएको छ । कर्मचारी नहुँदा स्वास्थ्य चौकी सुनसान बनेको छ । बर्थिङ्ग सेन्टरको भवन निर्माण गरिएपनि स्वास्थ्यकर्मी र उपकरणको अभावमा सञ्चालनमा आउन सकेको छैन । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नबस्ने समस्या पहिलेको जस्तै भएको उमाकुण्ड गाउँपालिका १ का वडा अध्यक्ष नुर्बु शेर्पाले बताउनुभयो ।

‘कोही बिरामी परेमा हेलिकप्टर चार्टर गर्नुपर्छ’ वडा अध्यक्ष शेर्पाले भन्नुभयो, ‘पैसा भयो बाच्यो, नभए मर्नु बाहेक अरु उपाय छैन ।’ आवश्यक परेको बेलामा सामान्य एउटा ट्यावलेटको समेत अभाव हुने गरेको उहाँले बताउनुभयो ।

गुम्देल स्वास्थ्य चौकीमा ५ जना स्वास्थ्यकर्मीको दरबन्दी छ । तर, दरबन्दीमा १ जना अनमी मात्र कार्यरत छन् । गाउँपालिकाले १ जना स्वास्थ्यकर्मी करारमा राखेको छ । समायोजन मार्फत उमाकुण्डमा १० जना अहेबहरुको नाम प्राप्त भएको छ । तर, उनीहरु कार्यालयमा हाजिर हुन पुगेका छैनन् ।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र पैकराका अनुसार समायोजनमा नाम आएका अधिकांशले अन्यत्र सरुवा मिलाउनका लागि तयारी गरिरहेको छ । ‘एक दुई जना मात्र सम्पर्कमा आएका छन’ पैकराले भन्नुभयो, ‘पुसको पहिलो साता सम्म बाटो हेर्छौ, आएनन् भने करार सेवामा स्वास्थ्यकर्मी नियुक्तिको प्रकृया अघि बढाउने कुरा छ ।’ उमाकुण्ड रामेछापको सबैभन्दा दुर्गम गाउँपालिका हो । 

साविकको गुम्देल गाविसलाई त्यस भित्रको पनि कर्णाली भन्ने गरिन्छ । गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गुम्देलका नागरिकको स्वास्थ्य समस्या प्रति आफू गम्भीर भएको बताउँदै तत्काल स्वास्थ्यकर्मीको व्यवस्था गरी बर्थिङ्ग सेन्टरको सेवा सञ्चालन गर्ने उहाँले बताउनुभयो । उहाँले स्वास्थ्य समस्याका कारण कुनैपनि नागरिकले प्राथमिक उपचारबाट वञ्चित हुनु नपरोस भनेर गाउँपालिकाले योजना बनाइरहेको बताउनुभयो ।

गुम्देलमा भएको साविकको स्वास्थ्य चौकी भवन पनि भूकम्पले भत्काएको थियो । अष्ट्रेलियाका सहयोगीले नयाँ भवन निर्माण गर्नका लागि सहयोग गरेकाले बर्थिङ्ग सेन्टर सञ्चालन योग्य भवन केही महिना अघि मात्र निर्माण पूरा भएको छ । तर, सो भवनमा बर्थिङ्ग सेवा सञ्चालनको वातावरण बनेको छैन । 

पूर्वाधार र स्वास्थ्यकर्मीकै अभावमा सेन्टर सञ्चालनमा ढिलाई हुँदा स्थानीय महिलाहरुले सुत्केरी गराउनका लागि बाम्ती या काठमाडौं जानु पर्ने बाध्यता छ । बाम्ती हिँडेर जादा २ दिन लाग्छ । गुम्देलमा सुत्केरी हुन कठीन भएका महिलाहरुलाई हरेक वर्ष जस्तो हेलिकप्टर चार्टर गरेर काठमाडौं पठाउने गरेको स्थानीय नबराज कार्कीले बताए ।

स्वास्थ्य शाखा प्रमुख पैकराले गुम्देलको स्वास्थ्य चौकी व्यवस्थापन समितिले बर्थिङ्ग सेन्टर सञ्चालनको माग गरेर निर्णय नपठाएको बताउनुभयो । सो निर्णय गाउँपालिकामा आएपछि स्वास्थ्य कार्यालयले पूर्वाधारको निरीक्षण गरी सञ्चालन अनुमति दिनुपर्ने हुन्छ । गाउँपालिकाले गुम्देलका लागि गत वर्षको बजेटबाट ५ लाख रुपैयाँ बरावरका उपकरण खरिद गरेर राखेको र नपुग थप गरेर तत्काल उक्त सेवा सञ्चालन गर्न सक्ने अवस्था रहेको पैकराले बताउनुभयो । 


प्रतिक्रिया