धनुषा बम काण्ड : घटनामा संलग्न रहेको आशंकामा ३ पक्राउ

मंसिर २८, २०७६ | धनुषा

प्रहरी निरीक्षक सहित ३ जनाको ज्यान जाने गरी धनुषाको क्षीरेश्वर नगरपालिका–५ कुसाई टोलस्थित राजेश साहको घरमा भएको बम विष्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हंसपुर नगरपालिका–२ बघचौडाका ललिता देवी महरा र सीता देवी महरा छन् । 

प्रहरीले मिथिला बिहारी नगरपालिका–१ भुतही पटेर्वाका राम सोभित दाहाललाई पनि पक्राउ गरेको छ । शुक्रबार राति साढे ११ गते साहको घरमा बम विस्फोट भएको थियो । विस्फोटमा परी साह र उनका छोरा १५ वर्षीय आनन्द र प्रहरी निरीक्षक अमिरकुमार दाहालको मृत्यु भएको हो । 

घाइते प्रहरी जवान रिझनाथ महतो, १९ वर्षीया अञ्जली साह र १४ वर्षीय प्रकाश साहको धरानस्थित घोपा अस्पतालमा उपचार भईरहेको छ । सामान्य घाईते अन्य २ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । २ जना भने डिस्चार्ज भएका छन् । 

हिजो राति ११ बजेतिर आफ्नो घरको गेट अगाडि शंकास्पद वस्तु देखेपछि साहले प्रहरीलाई खबर गरेका थिए । करीब २ किलोमिटरको दूरीमा रहेको इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दाहालको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । घटनास्थल सिल गर्न खोज्ने क्रममा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

विस्फोटमा प्रयोग भएको बम शक्तिशाली भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रेसर कुकर भित्र बम जडान गरिएको भेटिएको छ । प्रहरीले घटनास्थलबाट केही व्याट्री तथा अन्य प्राविधिक उपकरणका टुक्रा समेत फेला पारेको छ । विस्फोट कसले र किन गराएको भन्ने खुल्न सकेको छैन । 

घटनामा प्रतिबन्धित नेत्र विक्रम चन्द समूहको संलग्नता हुन सक्ने आशंका प्रहरीको छ । घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईको टोली पनि धनुषा गएको छ । धनुषा प्रहरीले पनि प्रहरी निरीक्षक उमा शंकर साहको नेतृत्वमा ७ सदस्यीय छानबिन तथा अनुसन्धान समिति गठन गरेको छ ।  


प्रतिक्रिया