सिद्धबाबा प्रकरण : फेरि तीन दिन म्याद थप

पुस ७, २०७६ | धरान

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपनि जिल्ला अदालत सुनसरीले बलात्कार आरोपमा मुद्दा खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीबिरुद्ध अनुसन्धानका लागि ३ दिनको म्याद दिएको छ । जिल्ला न्यायाधीश सिमानन्द भुसालको इजलासले सिद्धबाबालाई थप ३ दिन हिरासतमा राख्न आदेश दिएको हो । 

चतरास्थित रामानन्दाचार्य सेवापीठका गिरीविरुद्धको अनुसन्धान सकिएको भन्दै प्रहरीले अनुसन्धान प्रतिवेदन हिजो जिल्ला अदालतमा बुझाएको थियो । सिद्धबाबा प्रकरणमा अनुसन्धान गर्न यो पाँचौं पटक म्याद थपिएको हो । 

यसअघि पनि अनुसन्धान सकिएको भन्दै प्रहरीले अनुसन्धान मिसिल जिल्ला अदालतका न्यायाधीवक्तालाई बुझाएको थियो । तर, सरकारी वकिलले गिरी विरुद्धको अनुसन्धानबाट ‘पर्याप्त प्रमाण र अभियोग पूरक’ नभएको भन्दै थप समय माग्दै आएका छन् । गिरी भने बिरामी भएको भन्दै प्रहरी हिरासतमा नबसी विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स रुममा बस्दै आएका छन् ।

सिद्धबाबाको बलात्कार मुद्दामा प्रहरीले कमजोर मिसिल तयार पारेको र सरकारी वकिलले अभियोग पूरक नभएको भन्दै बारम्बार म्याद थप गराएको भन्दै पीडित पक्षले भने आपत्ति जनाएका छन् । गिरीले आफूमाथि गत कार्तिक ४ गते बलात्कार गरेको भन्दै पीडित महिलाले मंसिर १३ गते सुनसरी प्रहरीमा जाहेरी दिएकी थिइन् ।

सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले गिरीको अनुसन्धानको मिसिल हिजै अदालतमा बुझाइसकेको र बाँकी अनुसन्धान सरकारी वकिल आफैले गर्ने बताउनुभयो । सरकारी वकिल गोकुल निरौलाले प्रहरीले गरेको अनुसन्धानको मिसिल आफूहरुले अध्ययन गर्ने र अभियोग पूरक नभए म्याद थप गरेर फेरि अनुसन्धान गर्न लगाउने बताउनुभयो । 

सिद्धबाबाको वीर्य र डीएनए परीक्षणको रिपोर्ट आएको बताएपनि निरौलाले पीडित महिलाको भेजिनल स्वावसँग सिद्धबाबाको डीएनए म्याच भए/नभएको बारे भने खुलाउनु भएन ।


प्रतिक्रिया