विश्व बैंकको १९ करोड सहयोगमा तिलोत्तमामा सडक निर्माण सुरु

जेष्ठ २, २०८१ | तिलोत्तमा

विश्व बैंकको आर्थिक सहयोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुर–कान्छीबजार सडकखण्ड अन्तर्गत दोस्रो चरणको निर्माण सुरु भएको छ । 

मंगलापुर–कान्छीबजार खण्ड अन्तर्गत मंगलापुर चोकदेखि पूर्वतर्फ करीब ६ दशमलव ८४ किलोमिटर मध्ये १ दशमलव ८४ किलोमिटर बेवरा–कान्छीबजार सडक निर्माण कार्य सुरु भएको हो । 

विश्व बैंकको १९ करोड रुपैयाँ आर्थिक सहयोगमा बेवरा–कान्छीबजार सडक निर्माण सुरु गरिएको तिलोत्तमा नगरपालिकाको योजना शाखाका प्रमुख इन्जिनियर प्रदीप वनले बताउनुभयो । 

हाल सो सडकको दुबै किनारातर्फ ४/४ मिटर बिस्तारको क्रममा रहेको छ । सो सडकलाई बिस्तार गरी केन्द्रदेखि दुबै किनारातर्फ १३/१३ मिटर बनाउने योजना रहेको नगरपालिकाले जनाएको छ । 

सो सडकको मंगलबार एक कार्यक्रमबीच तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँणले शिलान्यास गर्नुभयो । सडक शिलान्यास गर्दै नगर प्रमुख खाँणले यी सडक नगरपालिकाले एक्लै बनाउन नसक्ने भएकोले विश्व बैंकको आर्थिक सहयोगमा बिस्तारको काम थालिएको बताउनुभयो । 

सडक निर्माणको काम समयमै सम्पन्न गर्न स्थानीयबासीसँगै जनप्रतिनिधि, प्राविधिक र कर्मचारी सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

गत वर्षदेखि विश्व बैंकको ५६ करोड रुपैयाँ आर्थिक सहयोगमा मंगलापुर–कान्छीबजार सडक बिस्तार अन्तर्गत ५ किलोमिटर सडक निर्माणाधीन छ । 

विश्व बैंक र शहरी विकास मन्त्रालयबाट स्वीकृत प्राप्त गरी बेवरादेखि कान्छीबजारको १ दशमलब ८४ किलोमिटर सडक निर्माणको लागि ठेक्का आह्वान भएको थियो । 

आशिष–आशीर्वाद जेभीले १ वर्ष ३ महिनामा सम्पन्न गर्ने गरी सडक निर्माण थालेको थियो । दोस्रो चरणको बेवरा–कान्छीबजार सडक बिस्तारका लागि १७ करोड ३४ लाख रुपैयाँमा सम्झौता भएको नगरपालिकाले जनाएको छ । 


प्रतिक्रिया