सिद्धबाबा विरुद्धको थुनछेक बहस पर्सि आईतबार

पुस ११, २०७६ | सुनसरी

आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप खेपिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको थुनछेक बहस पर्सि आईतबार मात्रै हुने भएको छ । आरोपित ४५ वर्षीय सिद्धबाबाको आज जिल्ला अदालत सुनसरीमा बयान सकिएको छ । 

थुनछेक बहसपछि मात्रै अदालतले सिद्धबाबालाई साधारण तारेख वा धरौटी वा पुर्पक्षका लागि कारागार पठाउने आदेश दिनेछ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सिद्धबाबा विरुद्ध ७ देखि १० वर्षसम्मको कैद सजायको माग गर्दै हिजो सुनसरी अदालतमा मुद्दा दायर गरेको हो ।

बयान सकिए लगतै गिरीलाई प्रहरीले पुन: विराटनगरस्थित विराट नर्सिङहोममा भर्ना गरेको छ । उनी अस्पतालबाटै गत मंसिर १६ गते पक्राउ परेका हुन् । 

गत कार्तिक ४ गते आफूमाथि सिद्धबाबाले बलात्कार गरेको भन्दै पीडित महिलाले मंसिर १३ गते सुनसरी प्रहरीमा जाहेरी दिएकी थिईन् । आफूविरुद्ध उजुरी परेको थाहा पाए लगतै गिरी बिरामी भएको बाहाना बनाएर सोही दिन अस्पताल भर्ना भएका हुन् ।  


प्रतिक्रिया