सरकारी गाडी चल्ला ढुवानीमा प्रयोग

पुस १५, २०७६ | संखुवासभा

संखुवासभाको सभापोखरी गाउँपालिकाको गाडी व्यवसायिक रुपमा कुखुराको चल्ला ढुवानीका लागि प्रयोग हुँदै आएको रहस्य खुलेको छ । सभापोखरी १ मा पर्ने धुपू बजारमा हिजो साँझ सेतो नम्बर प्लेटको गाडीले कुखुराको चल्ला र भुस ढुवानी गरिरहेको अवस्थामा स्थानीयले फेला पारेका थिए । 

सरकारी गाडीले कुखुरा ढुवानी गरिरहेको भन्ने सूचनाको आधारमा स्थानीय हिजो को १ झ ५९२ नम्बरको गाडी रोकेर जाँच गर्दा यस्तो रहस्य खुलेको हो । गाडीको पछिल्लो भागमा सभापोखरी गाउँपालिकाको सरकारी कागजात पनि भेटिएको थियो । 

सो गाडीमा ३ वटा कार्टुनमा कुखुराको चल्ला र भुस फेला परेको थियो । गाडी चालक कलमध्वज लिम्बुसँग सोधपुछका क्रममा ती कुखुराको चल्ला र भुस व्यापारिक प्रयोजनका लागि सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजार लैजाँदै गरेको खुलेको हो ।

 स्थानीयले चालकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए । चालक लिम्बुले ल्याएको चल्ला र भुस गाउँपालिका अध्यक्ष रत्नबहादुर सुब्बको भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

अध्यक्ष सुब्बाले गाउँलेको सामान ढुवानी बापत गाउँपालिकाले भाडा संकलन गर्ने र गाडी मर्मतमा खर्च पुग्ने बताउँदै आएका थिए । अध्यक्ष सुब्बाले स्थानीय समक्ष आगामी दिनमा सरकारी गाडी दुरुपयोग नगर्ने प्रतिबद्धता जनाएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया