अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका ४ भुटानी र एक जना तिब्बती नागरिक पक्राउ

पुस २२, २०७६ | वीरगञ्ज

अवैध रुपमा नेपाल प्रवेश गरिरहेका ४ भुटानी र एक जना तिब्बती नागरिकलाई वीरगन्जबाट पक्राउ परेका छन् ।वीरगन्ज भन्सारमा खटिएको सशस्त्र प्रहरीको राजस्व तथा भन्सार गस्ती टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । भारतको बोधगयाबाट काठमाडौँ आउँदै गरेको बा५ख २३८८ नम्बरको ‘नेपाल भारत मैत्री सेवा’ बसमा चेकजाँचका क्रममा राहदानी नभएका ४ जना भुटानी र एक जना तिब्तियन नागरिकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरिक्षक अमर खत्रीले जानकारी दिनुभयो । 

डीएसपी खत्रीका अनुसार पक्राउ पर्ने भुटानी नागरिकहरु १९ वर्षीया चुन्डु लाम्हो, ४३ वर्षीय चोडेन तमाङ, ६५ वर्षीय डोल्मा तमाङ, ७० वर्षीय ज्ञानबहादुर तमाङ रहेका छन् । त्यस्तै पक्राउ परेका तिब्बती नागरिकमा ४० वर्षीय कुनचोक ट्सोमो तिब्तियन नागरिक रहेका छन् । उनीहरुसँग सामान्य आईडी कार्ड मात्र भेटिएकोले ‘राति नै अध्यागमनका कर्मचारी बोलाएर थप अनुसन्धानका लागि जिम्मा लगाएको डीएसपी खत्रीले जानकारी दिनुभयो ।  

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि भुटानी र तिब्तियनले आफूलाई भारततर्फ फर्काइदिन माग गरेका थिए । अध्यागमन कार्यालय वीरगन्जका शाखा अधिकृत सन्जु सुनारका अनुसार भारतबाहेक अन्य देशका नागरिकलाई नेपाल प्रवेश गर्न भिसा आवश्यक पर्छ ।


प्रतिक्रिया