जनप्रतिनिधिबीच जहिल्यै मनमुटाव, काम प्रभावित

पुस २३, २०७६ | रोल्पा

निर्वाचित भएदेखि नै रोल्पाको सुनिलस्मृति गाउँपालिकाका जनप्रतिनिधिबीच मनमुटाव हुँदै आएको छ । विकास निर्माणका योजना र प्रक्रियाका बारेमा केही वडा अध्यक्ष र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष बीच सुमधुर सम्बन्ध बन्न सकेको छैन ।

गाउँपालिकाको नामाकरण गर्ने विषयदेखि नै जनप्रतिनिधिका बीचमा तिक्तता सुरुआत भएको थियो । गाउँपालिकाको पूर्व प्रस्तावित नाम बदलेर व्यक्तिको नाममा राख्न खोजेदेखि नै जनप्रतिनिधि बीच विवाद भएको हो । वडा नं ४ का अध्यक्ष गञ्जबहादुर महरा क्षेत्रीले काम गर्ने तरिका र शक्ति प्रदर्शन गरेपछि आफूहरुले विरोध गर्दै आएका बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष लगायत सत्तापक्षीय जनप्रतिनिधिको रवैयाप्रति इंगित गर्दै कांग्रेसबाट निर्वाचित वडा नं ४ का अध्यक्ष गञ्जबहादुर महरा क्षेत्रीले भन्नुभयो, ‘केन्द्रीय सत्ता जसको भएपनि स्थानीय तहमा त्यसको प्रभाव पर्न दिनुहुन्न भन्ने हाम्रो धारणा हो ।’ सो गाउँपालिकाका ८ मध्ये १, २, ३ र ४ नम्बर वडामा कांग्रेसले जितेका थिए । 

जनप्रतिनिधिबीच विवाद, मनमुटाव र तिक्तता यति भित्रसम्म झांगिदो अवस्थामा पुग्यो कि अहिलेसम्म ४ पटकसम्म कार्यपालिकाको बैठकमा विवाद हुन पुथ्यो । विपक्षी जनप्रनितिधिले कतिपय निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ समेत लेख्न भ्याए । 

सत्ता पक्षीय दलका नेता समेत रहेका गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीमगर लगायतका पदाधिकारीसँग चारै वडाका अध्यक्षले विरोध जनाउँदै आएका छन् । पछिल्ला बैठकहरुका कतिपय निर्णयहरुप्रति अझैपनि वडा नं १ का अध्यक्ष केशवलाल कवर, २ का नेत्र गिरी र ४ का महरा क्षेत्रीले असहमति जनाउने गरेका छन् । 

वडा न. ३ का वडा अध्यक्ष जेदबहादुर विष्टको दुई महिना अघि हृदयघातका कारण मृत्यु भएको थियो । ती वडा बाहेक अन्यमा पूर्व माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए । ४ नम्बर वडाका अध्यक्ष क्षेत्रीले गाउँपालिकाका अध्यक्ष घर्तीमगर लगायतले फरक विचारका जनप्रतिनिधि भनेर बेवास्ता र पक्षपात गरेकाले विवाद हुने गरेको बताउनुभयो ।

तर, गाउँपालिकाकी उपाध्यक्ष बागमती थापा क्षेत्रिनीले खासै विवाद नभएको बताउनुभयो । पटकपटक विवाद हुने अवस्था स्वीकार गर्दै गाउँपालिकाका अध्यक्ष घर्तीमगरले पनि विचारका आधारमा कुनै जनप्रतितिधिलाई पक्षपात नगरिएको बताउनुभयो । 

उहाँले कांग्रेस निकट वडा अध्यक्षहरुले आफ्ना हरेक प्रस्ताव र योजनाप्रति विरोध गर्ने बानी बसालेको आरोप लगाउनुभयो । गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष नवराज थापाका अनुसार सामान्य विवाद भएपनि ठूलै तनाव व्यहोर्नु परेको अवस्था छैन । 

उहाँले अन्य अवस्थामा विवाद नभएपनि कार्यपालिकाको बैठक र गाउँसभा आयोजना गर्दा मनमुटावको प्रभाव देखिने गरेको बताउनुभयो । यस्तै जनप्रतिनिधिसहितको कार्यपालिका रहने र वडा अध्यक्षसहित जनप्रतिनिधि उक्त कार्यपालिकाका सदस्य रहने समेत ऐनमा व्यवस्था गरिएको छ । त्यसैले अन्य समयमा भन्दा कार्यपालिका बैठक र गाउँसभा आयोजना गरेका बेला दुवै पक्षको उपस्थितिपछि विवाद देखिने गरेको कर्मचारीको भोगाई छ ।

रोल्पाको ठूलो बजार सुलिचौर समेत यसै गाउँपालिकामा पर्छ । चर्चित धार्मिक स्थलहरु खुंग्रीकोट, चतुर्भुज, गजुलकोट र लिस्ने लेक समेत पर्ने उक्त गाउँपालिकामा रातो माटोले आकर्षक गाउँ घोडागाउँ समेत पर्छ । पूर्व–पश्चिम सडक सञ्जाल महेन्द्र राजमार्गदेखि प्युठान हुँदै रोल्पा सदरमुकाम लिबाङ ल्याइपुर्‍याउने भालुबाङ–लिबाङको प्रवेशद्वार पनि उक्त गाउँपालिकाको खुंग्रीमा पर्छ । 

पर्यटकीय, धार्मिक र सांस्कृति सम्पदाले भरिपूर्ण उक्त गाउँपालिकाको नामाकरण गर्दा पनि विवाद भएको थियो । गाउँपालिका गठन गर्दा सुरुमा सुवर्णावती नाम राखिएपनि तत्कालीन माओवादी समर्थक जनप्रतिनिधिको जितपछि धार्मिक नामाकरण गरिएको आरोप लगाइएको थियो । 

उनीहरुकै पहलमा तत्कालीन सशस्त्र द्वन्द्वमा मारिएका माओवादी लडाकुको स्मृतिमा गाउँपालिकाको नाम राखिएको हो । गजुल निवासी तत्कालीन लडाकुका डिभिजन कमाण्डर किमबहादुर थापा ‘सुनील’को स्मरणमा उक्त गाउँपालिकाको नाम ‘सुनिलस्मृति गाउँपालिका’ राखिएको हो । 

थापाकै पत्नी उक्त गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित समते भएकी थिइन् । उक्त गाउँपालिका गठन गर्दा साविकका मिझिङ, खुंग्री, घोडागाउँ, तेबाङ, अरेस, गजुलको पूरै भाग र फगामको एउटा वडा गाभिएको थियो । जनसंख्या र भूगोलका दृष्टिकोणमा जिल्लाका ९ मध्ये ठूलोमध्येमा पर्ने उक्त गाउँपालिकाको केन्द्र सुलिचौर बजारमै कायम गरिएको छ ।    


प्रतिक्रिया