प्रदेशको अस्तित्व धरापमा : मुख्यमन्त्री पौडेल

माघ ३, २०७६ | मकवानपुर

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको अस्तित्व धरापमा परेको बताउनु भएको छ । संघीय सरकार, प्रदेश र स्थानीय तहबीच समन्वयको अभाव हुँदा प्रदेशको अस्तित्व धरापमा परेको उहाँले बताउनु भएको हो । 

शुक्रबार संघीय संसद प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा हेटौंडामा भएको विकास र समृद्धिमा अन्तर तह समन्वय विषयमा आफ्नो धारणा राख्ने क्रममा मुख्यमन्त्री पौडेलले संघीय सरकारले प्रदेश सरकारले बनाएको कानूनहरु पूर्णरुपमा लागू गर्न नदिएको र स्थानीय तहले प्रदेश सरकारलाई वेवास्ता गर्दा समस्या सिर्जना भइरहेको बताउनुभयो । 

‘अहिले समस्या नै समस्याको बीचमा प्रदेश सरकार रहेको छ । संघीय सरकारका कारण हामीले बनाएको वन ऐन लागू गर्न सक्ने अवस्था छैन । ढुङ्गागिट्टी बालुवा र अवैधानिक क्रसरलाई नियन्त्रण गर्न सकेनौं ।’

मुख्यमन्त्री पौडेलले भन्नुभयो, ‘बरु केन्द्र र स्थानीय तहबीच समन्वय देखियो । प्रदेशसँग कसैको पनि सरोकार र समन्वय देखिएन ।’

यस्तै अवस्था रहे जनताले पनि प्रदेश सरकारसँग निराश हुने र आश गर्न छाड्ने अवस्था सिर्जना हुन सक्ने उहाँको भनाई थियो । 

उहाँले भन्नुभयो, ‘प्रदेश सरकार चारैतिरबाट बाँधिएको छ । केन्द्रले हामीमाथि योजनाको भारीमात्र थुपारेर बस्यो । दायित्व बहन गरेन् । शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा तीन तहबीच समन्वयको पूर्ण अभाव छ ।’

मुख्यमन्त्री पौडेलले संघीयता कमजोर भएको खण्डमा यसको दोष आफूहरुमाथि आउने भन्दै सबैले आ-आफ्नो दायित्व पूरा गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकार स्थापना भएको दुई वर्षको अवधि सम्मा पनि यसको गम्भीरतालाई बुझ्न संघ र स्थानीय तहले कञ्जुस्याईं गरेको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो, ‘तीन तहबीच अधिकार बाँडफाँड स्पष्ट भएपनि त्यसको व्यवहारिक प्रयोग देखिएको छैन । संघले जथाभावी योजना वितरण गरिरहेको छ । योजना निर्माण र वितरणमा प्रदेशसँग कुनै पनि किसिमको सहकार्य हुँदैन ।’

उहाँले तीन तहको सरकारबीच समन्वय गर्ने गरी प्रदेश तहमा प्रदेश सरकार समन्वय इकाईं गठन गर्ने तयारीमा आफू रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘संघले योजना छनौटलाई व्यवस्थित र पारदर्शी बनाउँदै तीन तहबीच समन्वय भएको खण्डमा पक्कै पनि व्यवस्था परिवर्तन भएको महसुस सबैले गर्नेछन् ।’

मुख्यमन्त्री पौडेलले व्यवस्था परिवर्तन भएपनि सोच परिवर्तन नहुँदाको परिणाम अहिले भोग्नु परिरहेको टिप्पणी गर्नुभयो । 


प्रतिक्रिया