नेकपाले संसदलाई अनिर्णयको बन्दी बनाएको कांग्रेस निष्कर्ष

माघ ३, २०७६ | काठमाडौं

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधिसभालाई अनिर्णयको बन्दी नबनाउन सत्तारुढ दलको ध्यानाकर्णण गराएको छ । 

पार्टीभित्रको आन्तरिक विषयले संसदलाई नै बन्दी बनाउन नहुने कांग्रेसले निष्कर्ष निकालेको हो । 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकले आगामी सोमबार बस्ने प्रतिनिधि सभाको बैठकबाट सभामुख चयन प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालेको सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो । 

अब पनि सूचना टाँसेर संसद बैठक स्थगित भए कांग्रेसलाई मान्य नहुने उहाँको भनाई छ । सभामुख चयन प्रक्रियामा संवैधानिक व्यवस्था विरुद्ध कुनै पनि कार्य नगर्न पनि कांग्रेसले सरकारलाई सचेत गराएको छ । 

यस्तै कांग्रेस दलको बैठकले प्रतिनिधि सभाको यही अधिवेशनबाट मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी पारित गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको सचेतक भुषालले बताउनुुभयो । 

एमसीसी सम्झौता कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको थियो । संसदको हिउँदे अधिवेशन सुरु भएको एक महिनासम्म पनि बैठक बस्न नसेकपछि कांग्रेसले पार्टीको आधिकारिक धारणा तय गरेको हो । 

सत्तारुढ दलले सभामुखको उम्मेदवार तय गर्न नसक्दा प्रतिनिधि सभाको हिउँदे अधिवशेन सुरु भएको एक महिनासम्म पनि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । यो बीचमा तीन पटक सूचना टाँसेर स्थगित भएको बैठक आगामी सोमबारका लागि बोलाइएको छ ।


प्रतिक्रिया