तिङलामा आन्दोलन, दर्जनौ सवारीमा आगो लगाइयो

माघ ४, २०७६ | सोलुखुम्बु

– सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङलावासी / राष्ट्रिय विद्युत प्रसारण लाइनको विषयलाई लिएर आन्दोलनमा उत्रिएका छन् । तिङलामा बनेको सबस्टेशनमा ३३ केभी प्रसारण लाइन जोडिएपछि आज सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेमा उद्घाटन कार्यक्रम राखिएको थियो । तर सबस्टेशन भएको तिङलामा विद्युतीकरणको काम पुरा नगरि पत्तालेबाट उद्घाटन गर्न लागेको भन्दै तिङलावासी आन्दोलनमा उत्रिएका हुन् । उद्घाटन कार्यक्रमका लागि प्रतिनिधिसभा सदस्य हेमकुमार राई सहितको टोलीमा आएका एक दर्जन भन्दा बढी मोटरसाइकलमा आन्दोलनकारीले आगो लगाएका छन् । 

त्यसैगरि एउटा जिपमा समेत उनीहरुले आगो लगाएका छन् । आन्दोलनमा प्रहरीले दर्जनौं फायर अश्रुग्याँस प्रहार गरेका थिए । यकिन क्षति विवरण आउन केही समय लाग्ने प्रमूख जिल्ला अधिकारी रमा आचार्यले बताउनुभयो । तिङलावासीले बिहिबार नै विद्युत प्राधिकरणको जिल्लास्थित वितरण शाखालाई ध्यानाकर्षण पत्र बुझाउँदै उद्घाटन कार्यक्रम स्थगित गर्न अनुरोध गरेका थिए । पटक पटक गरिएको अनुरोधलाई समेत वेवास्ता गरि मूख्य प्रभावित क्षेत्रको गुनासो सम्बोधन नगरेको हुँदा आन्दोलनमा उत्रिनु परेको स्थानीय बालकुमार कार्कीले बताउनुभयो । 


प्रतिक्रिया