राष्ट्रियसभा निर्वाचन तयारी पुरा

माघ ८, २०७६ | काठमाडौं

राष्ट्रियसभा निर्वाचनका लागि आवश्यक सम्पुर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन स्थलमा मतपत्र पत्र पुर्‍याउने, निर्वाचन लक्षित सुरक्षा लगायत सम्पुर्ण तयारी पूरा भएको आयोगको भनाई छ । सातै प्रदेशमा हुने निर्वाचनका लागि आवश्यक मतदान स्थल पनि आज साँझसम्म निर्माण भइसक्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश १ को विराटनगरस्थित वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुरस्थित महेन्द्र नारायण निधि स्मृति भवन, बागमति प्रदेशमा ललितपुर महानगरपालिकाको वडा समिति भवन , गण्डकी प्रदेशमा जिल्ला निर्वाचन कार्यालय, प्रदेश ५ मा घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेश सुर्खेतमा जिल्ला निर्वाचन कार्यलय र सूदुरपश्चिम प्रदेशको सिलगढीमा पद्दम पब्लिक मुक्ति नारायण उच्च माविमा मतदानको व्यवस्था गरिएको छ ।

 बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सम्बन्धित मतदान स्थलमा पुगेर ढुक्कसँग मतदान गर्न सकिने प्रवक्ता श्रेष्ठले बताउनुभयो । राष्ट्रिय सभाको पहिलो बैठक बसेको २ वर्षमा कार्यकाल सकिने १९ जनामध्ये १८ सिटका लागि भोलि निर्वाचन हुँदैछ । एक सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ । 

राष्ट्रिय सभा निर्वाचनमा नेकपाले १६ नेपाली कांग्रेसले १६ , समाजवादी पार्टीले ७ तथा राष्ट्रिय जनता पार्टी राजपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले २/२ जनालाई उम्मेदवार बनाएका छन् । सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ५ सय ५० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५सय ६ गरी कूल जम्मा २ हजार ५६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।


प्रतिक्रिया