थरुहट थारुवान राष्ट्रिय मोर्चाले चरणबद्ध आन्दोलन गर्ने

माघ ८, २०७६ | काठमाण्डौं

– राजबन्दी जीवन बिताई रहेका प्रतिनिधि सभाका सांसद रेशम चौधरीसहित टीकापुर हत्याकाण्डमा आरोपितको रिहाईका लागि थरुहट थारुवान राष्ट्रिय मोर्चाले आगामी चरणबद्ध आन्दोलन घोषणा गरेको छ । काठमाण्डौंमा आज पत्रकार सम्मेलन गरी मोर्चाले यही माघ १४ गते प्रधानमन्त्री लगायत सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुलाई १५ दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाउने जनाएको छ । 

मोर्चाका अध्यक्ष लक्ष्मण थारुले सांसदसहित थारुहरुलाई विनाकारण काराबास जीवन जिउन बाध्यपार्नु दुर्भाग्यपूर्ण भएको भन्दै रिहाईको मागका लागि दवावको कार्यक्रम गर्ने निर्णय भएको बताउनुभयो । राजबन्दी रिहाईसहित संविधान संशोधन, थरुहट प्रदेशको सुनिश्चित्ता, लोकसेवामा थारुसहित आदिबासी जनजातिको जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने लगायतको माग मोर्चाले अघि सारेको छ ।


प्रतिक्रिया