सरकार सहयोगको हात बढाउन तयार छ : मन्त्री भट्टराई

माघ १४, २०७६ | टीकापुर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरकार कुनैपनि मित्रराष्ट्रसँग सहयोगको हात बढाउन तयार रहेको बताउनु भएको छ । सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव २०७६ को मंगलबार उद्घाटन गर्दैै मन्त्री भट्टराईले घुमाउरो शैलीमा सरकार अमेरीकी सहयोग सम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गराउन तयार रहेको बताउनुभयो । 

सरकारले अघि सारेका कुनैपनि योजना प्रति भावनात्मक रुपमा नकारात्मक टिप्पणी नगर्न पनि आग्रह गर्नुभयो । ‘साथीहरु भावनामा बहकिनु हुन्छ । त्यसरी नकारात्मक भ्रम नफैलाउन आग्रह गर्छु’ उहाँले भन्नुभयो, ‘राष्ट्र, जनता र सार्वभौमिकताको रक्षा गर्नु सरकारको दायित्व हो । यो कुरामा सरकार स्पष्ट छ ।’

उहाँले सरकार संमृद्ध नेपाल सुखी नेपाली अभियानमा लागेको भन्दै वर्षौदेखि विभाजित समाजलाई कसरी समता मूलक बनाउन सकिन्छ भन्ने सोचमा रहेको बताउनुभयो । 

मन्त्री भट्टराईले सरकार सबै राजनीतिक दलहरुसँग हातेमालो गरेर अघि बढिरहेको भन्दै सबैको सहकार्यले मात्रै परिवर्तन सम्भव हुने बताउनुभयो । कांग्रेस र कम्युनिष्टबीचको सहकार्यले नै अहिलेको परिवर्तन सम्भव भएको उहाँको भनाई थियो ।

 ‘हामी बेलाबखत अशान्तिका संकेत देख्छौं । यसले देश र जनताको पक्षमा हित गर्दैन’ उहाँले भन्नुभयो, ‘संविधान भित्र रहेर स्वस्थ प्रतिस्पर्धा गरौं । जित्ने र हार्ने सामान्य कुरा हो ।’

मन्त्री भट्टराईले देश वा समाज निर्माणको क्रममा कहीले काँही समाजले दुखद् घटना पनि व्यहोर्नु परेको स्मरण गर्दै टीकापुर घटनालाई बिर्सदै समाजको विकासमा लाग्न पनि आग्रह गर्नुभयो । 

उहाँले भ्रमण वर्ष २०२० लाई सफल पार्न र स्थानीय पर्यटन विकासको गुरुयोजना ल्याउन स्थानीय सरकारहरुलाई आग्रह गर्नुभयो । महोत्सव आयोजक टीकापुर उद्योग वाणिज्य संघले टीकापुर एयरपोर्ट संचालनका विषयमा राखेको माग पूरा गर्ने जनाएको छ ।

मन्त्री भट्टराईले भन्नुभयो, ‘अरु ठाउँबाट डेलिगेसन आउँदा खाली केन्द्र सरकारले मात्र गरिदिन आग्रह गर्छन । तर, टीकापुर नगरपालिका र वरपरका पालिकाले आफूले पनि लगानी गर्ने गरी माग राखेकाले सहकार्यमा एयरपोर्ट सञ्चालन हुन्छ । यसका लागि केही दिनमै प्राविधिक टोली टीकापुर आउनेछ ।’ 

उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका ७ जना व्यक्तिलाई सम्मान गरीएको छ । शिक्षा क्षेत्रबाट भक्तीराम कोइराला, व्यापार क्षेत्रबाट टीकाराम जैशी, पर्यटन क्षेत्रबाट भोजराज ढुंगाना, कृषि क्षेत्रबाट टेकेन्द्र धामी, पत्रकारिता क्षेत्रबाट गणेश चौधरी, कला क्षेत्रबाट शिशिर साधक र खेलकुद क्षेत्रबाट जनक केसीलाई सम्मान गरिएको छ । टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा १४ गतेबाट शुरु भएको महोत्सव २६ गतेसम्म चल्नेछ । 


प्रतिक्रिया