के महरालाई नेकपाले स्थान देला !

फाल्गुन ६, २०७६ | काठमाडौं

पूर्वसभामुख कृष्णबहादुर महराको सांसद पद निलम्बन फुकुवा भएपनि नेपाल कम्युनिष्ट पार्टी नेकपामा आवद्ध हुने बिषय भने पेचिलो बनेको छ । 

काठमाडौं जिल्ला अदालतले आरोप पुष्टि हुने आधार नभएको भन्दै हिजो सफाइ दिएपछि जिम्मेवारी सहित महरालाई पार्टी प्रवेश गराउने बिषय भने प्रक्रियागत रुपमा अप्ठ्यारोमा परेको हो । 

गत असोज १४ गते बिहान बसेको नेकपा सचिवालय बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव दिएको थियो । सोही दिन महराले सभामुख पदबाट राजीनामा दिएपनि सांसद पद भने छाड्नु भएको थिएन । सो निर्णय अझै यथावत रहेकाले जिम्मेवारीसहित पार्टी प्रवेश गराउन नेकपामा नैतिक समस्या देखिएको हो । ने

कपाका एक बरिष्ठ नेताले पार्टीको पूर्ववत निर्णय पुनर्विचार नभएसम्म महरालाई पार्टी प्रवेश देखि जिम्मेवारी दिनेसम्मको काम गर्न नसकिने बताए । तात्कालिन एमालेसँग एकीकरण हुनु पूर्व नै माओवादी पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकाले नेकपामा महराको कुनै जिम्मेवारी थिएन ।

२०७४ साल फागुन २६ गते सभामुखमा निर्वाचित भएलगत्तै साधारण सदस्य समेत नरहने गरी महराले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनुभएको थियो । तात्कालिन माओवादीका तर्फबाट दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित महरा, वर्तमान अवस्थामा कुनै दल आवद्ध हुन्ुहुन्न । 

संविधानविद डा.विपिन अधिकारीले जिल्ला अदालत काठमाडौंले सफाइ दिएको र पुनरावेदन मुद्दा समेत दर्ता नभएकाले उहाँ कानुनत: स्वतन्त्र अवस्थामा रहेको बताउनुभयो । सभामुख जस्तो उच्च पदमा पुगेको व्यक्ति आरोप मुक्त भएपछि पनि जिम्मेवारी नदिए नेकपाका लागि प्रतिउत्पादक हुने डा. अधिकारीको बुझाई छ ।

सभामुख अग्नी सापकोटाले आरोप मुक्त भएर महरा हिजै रिहा भएको औपचारिक जानकारी प्रतिनिधिसभाको आजको बैठकलाई गराउनु भएको थियो ।

महराले सफाइ पाएको पत्र अदालतले आज संसद सचिवालयलाई पठाएको थियो । बलात्कार प्रयासको आरोप लागेपछि महराले गत असोज १४ गते सभामुख पदबाट राजीनामा दिनुभएको थियो । 

प्रहरीले महरालाई गत असोज १९ गते काठमाडौंको वालुवाटारस्थित सभामुख निवासबाटै नियन्त्रणमा लिएको थियो । अदालतको आदेशपछि महरा हिजै रिहा हुनुभएको छ । 


प्रतिक्रिया