६ करोड लागतमा विराटनगरमा दुग्ध उद्योग सञ्चालनमा

फाल्गुन १४, २०७६ | विराटनगर

– विराटनगर महानगर १४ जतुवामा ६ करोड लागतमा सुर्योदय मिल्क एण्ड वेभरेज इण्डष्ट्रिज प्रालि सञ्चालनमा ल्याइएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज उद्घाटन गर्नुभएको अत्याधुनिक प्रविधियुक्त सो उद्योगको प्रतिघण्टा दुई हजार तथा दैनिक २० हजार लिटर दुध प्रशोधन गर्ने क्षमता रहेको सञ्चालक अनुज यादवले बताउनुभयो । उहाँले तीन जनाको संयूक्त लगानी रहेको उद्योगमा सुरुवाती चरणमा ६ करोड लगानी रहेको बताउनुभयो । 

दुई कठ्ठा दश धुर जग्गामा स्थापना गरिएको उद्योगमा मोरङदेखि धनकुटाको ग्रामीण क्षेत्रमा दुग्ध सहकारीबाट दैनिक दुध संकलन गरी बजारमा दहि, घिउ, पनिर, बटर र प्रशोधित स्टयाण्डर र होल दुध बिक्री वितरण सुरु गरेको उहाँको भनाई छ । उद्योगमा हाल ३० जनाले रोजगारी पाएको यादवले बताउनुभयो । आगामी दिनमा दुधका अन्य विविध परिकारका साथै धुलो दुध समेत उत्पादन गर्ने लक्ष्य रहेको उहाँको भनाई थियो । 

मुख्यमन्त्री राईले डेरी उद्योगले उत्पादनमा विविधीकरण गरी दुधजन्य पदार्थको आयात प्रतिस्पथापन गर्नुपर्ने बताउनुभयो । प्रदेश सरकारको प्रहिलो प्राथमिकतामा रहेको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरणका साथै आद्योगिककरणका लागि आगामी नीति, कार्यक्रम तथा बजेटमा विशेष व्यवस्था गर्ने उहाँले बताउनुभयो । 


प्रतिक्रिया