आगलागी तथा डढेलोका घटना बढ्दै, एक सातामा ३ जनाको मृत्यु

वैशाख १४, २०८१ | काठमाडौं

बढ्दो सुख्खायामका कारण मुलुकका विभिन्न स्थानमा आगलागी तथा डढेलोका घटना बढेका छन् । जसका कारण पछिल्लो एक सातामा मात्र ३ जनाको मृत्यु छ । २३ जना घाइते भएका छन् । ३ सय ५७ वटा पशुचौपाया जलेका छन् । गत शुक्रबार देखि हिजोसम्म भएका घटनाबाट सो संख्यामा मानवीय र भौतिक क्षती भएको गृह मन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

आगलागीका २ सय ३१ र डढेलोको १ सय ५३ गरि एक साताको अवधिमा ३ सय ८४ वटा घटना भएका छन् । घटनाकै कारण ११ करोड ९० लाख बराबरको क्षती भएको जनाइएको छ । २ सय ९२ वटा भौतिक पूर्वाधारमा क्षती पुगेको छ । बढ्दो सुख्खायामका कारण आगलागी तथा डढेलोको घटना बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन समेत प्राधिकरणले सचेत गराएको छ ।

यस्तै, पाल्पाको तिनाउ गाउपालिका क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । यस्तै, सल्यानको त्रिबेणी गाउँपालिका र शारदा नगरपालिकामा ११ घर गोठ जलेर नष्ट भएका छन । डढेलोले परि एक महिला घाइते भएकी छन् । डढेलोले किसानका बारीमा लगाएका अदुवा, बेसारमा समेत क्षती पु¥याएको छ ।

डढेलो फैलिदै जाँदा आदर्श सामुदायिक वनमा लागेको र त्यसले बस्तीका घरगोठ मात्र नभई करिब १५ जना किसानले प्रति ब्यक्ति एक रोपनी जग्गामा लगाएको अदुवा र बेसार बालीमा समेत क्षती पुर्याएको त्रिबेणी गाउँपालिका २ का वडा अध्यक्ष हस्तबहादुर रामजाले बताउनुभयो । हावा चलिरहेकाले डढेलो नियन्त्रणमा लिन कठिनाई भएको उहाँको भनाई छ ।

यसैविच, तराई क्षेत्रमा तातो हावा चलेका कारण जनजिवन प्रभावित बन्दै गएको छ । मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशको तराई क्षेत्रमा तापक्रम ४० डिग्री भन्दा माथि पुगेको र सो क्रम बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउंसोको समयमा सो स्थानमा तातो हावा चल्ने हुनाले सावधानी अपनाउन पर्ने विभागमा मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने लगायतका समस्याको संभावना रहेकाले सो बाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र रही हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कदा टाउको छोप्ने, टोपी लगाउने लगायतका सावधानी अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेका छन् । 


प्रतिक्रिया