राष्ट्रपतिको स्वागतमा सार्वजनिक बिदा

फाल्गुन १५, २०७६ | बैतडी/ दार्चुला

राष्ट्रपति विद्यादेवी भण्डारी धार्मिक प्रयोजन र विद्यालय भवन उद्घाटनका लागि आज बैतडी र दार्चुला जाँदै हुनुहुन्छ । प्राविधिक शिक्षालय भीमदत्त पोलिटेक्निकल इष्टिच्युटको नव–निर्मित भवन र छात्रावास भवनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी बैतडी जान लाग्नुभएको हो । 

 सो अवसरमा बैतडीको पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाले आज सावर्जनिक बिदा दिएको छ । राष्ट्रपति भण्डारी जाने भएपछि नगरपालिकाले बिदा दिने निर्णय गरेको हो । राष्ट्रकै प्रमुख जिल्लाको नगरपालिकामा कार्यक्रमको लागि आउन लाग्नुभएकोले बिदा दिने निर्णयमा गरेको नगर प्रवत्ता लोक बहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'विद्यालय भवनकै उद्घाटनसंगै नागरिक अभिनन्दन पनि भएकाले राष्ट्रपतिको आवगमनलाई स्थानीयले विशेष उत्सवका रुपमा लिएका छन् ।'


यसैबीच आजै राष्ट्रपति भण्डारीले दशरथचन्द नगरपालिकास्थित त्रिपुरासुन्दरी मन्दिरमा पूजा गर्ने दशरथचन्दका नगरप्रवक्ता चक्रप्रसाद शर्माले जानकारी दिनुभयो । यद्यपी नगरपालिकाले दिएको सार्वजनिक बिदाका कारण बालबालिकाको पढाइ प्रभावित भएको दशरथचन्द माविका प्रधानाध्यापक तेजप्रकाश भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रप्रमुख आउँदा कार्यक्रमस्थल नजिकका विद्यालयका विद्यार्थी जानु, स्वागत गर्नु ठिकै भए पनि सबै विद्यालय बन्द गर्न जरुरी थिएन ।'

 राष्ट्रपति भण्डारीले दार्चुलाको मालिकार्जुन गाउँपालिकास्थित मालिकार्जुन मन्दिरमा समेत विशेष पूजापाठ गर्ने कार्यक्रम छ । त्यसका लागि पनि शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।


प्रतिक्रिया