नेपाल, चीनसहित पूर्वी एसियन मुलुकका स्वास्थ्य अधिकारीबीच आज भिडियो कन्फरेन्स हुँदै

चैत्र ७, २०७६ | .काठमाण्डौं

नेपाल, चीनसहित पूर्वी एसियन मुलुकका स्वास्थ्य अधिकारीबीच आज भिडियो कन्फरेन्स हुँदैछ । अपरान्ह ३ बजे सुरु हुने कन्फरेन्समा कोरोना भाइरस संक्रमणको रोकथाम नियन्त्रण र न्यूनीकरण लगायतका विषयमा अनुभव आदानप्रदान र सहयोगको विषयमा कुरा हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

 पछिल्लो प्रतिकुल अवस्थामा भन्सार व्यवस्थापन, महामारीपछिको जोखिम लगायतका विषयमा पनि छलफल हुने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । मन्त्री ज्ञवालीले भन्नुभयो, 'महामारी भित्रिएको अवस्थामा के कस्ता उपाय अवलम्वन गर्ने, स्वास्थ्यदेखि अन्य पाटो लगायतको व्यवस्थापन लगायतमा हामी उहाँहरुको बेस्ट प्रािक्टस सिक्न चाहन्छौँ ।'

कन्फरेन्समा सहभागी अन्य एसियन मुलुकहरुसँग चीनले नै समन्वय गरेकोले को को उपस्थित हुन्छन् बारे जानकारी आइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि चीनले नेपाललाई आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको थियो । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोभिड–१९ संक्रमणलाई चिनियाँ सरकारले लगभग नियन्त्रण गरेको जनाएको छ । गत बुधबार यता चीनमा कोरोना संक्रमण शून्य रहेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्वीटमार्फत जानकारी दिनुभएको थियो ।   


प्रतिक्रिया