कोरोना संक्रमण आशंका गरिएका व्यक्तिको स्वास्थ्य परीक्षणको अन्तिम नतिजा आउन बाँकी

चैत्र ९, २०७६ | वीरगन्ज

कोभिड-१९ (कोरोना भाइरस) को आशंका गरिएका वीरगन्जका एक बिरामीको नमूना परीक्षणको अन्तिम नतिजा आउन बाँकी रहेको उनको परिवारले बताएको छ ।

वीरगन्ज महानगरपालिका आदर्शनगर १० निवासी ६७ वर्षीयको उपचारका लागि भारत बिहारको पटना मेडिकल कलेज अस्पताल पुगेका आफन्तले पटनाबाटै कान्तिपुरलाई बताएअनुसार उनको नमूना परीक्षणका लागि पुनाको इन्स्टिच्युट अफ भाइरोलोजीमा पठाइएको छ।

'यहाँ गरिएको पहिलो परीक्षणपछि डाक्टरले पुनाबाट रिपोर्ट नआइकन कोरोना भएको पुष्टि गर्न सकिँदैन भनेका छन्,' उनले भने।

भारतीय दैनिक पत्रिका दैनिक जागरणका पटनास्थित स्वास्थ्य संवाददाता पवन कुमारले पनि ती नेपालीमा कोरोना संक्रमण भएको पुष्टि नभएको बताए। पटना मेडिकल कलेज हस्टिपटलमा शुक्रबार भर्ना भएका बिरामीको नमूना परीक्षणको अन्तिम नतिजा आएपछि मात्रै संक्रमण हो होइन भन्न सकिने उनले अस्पतालका चिकित्सकलाई उद्‌धृत गर्दै कान्तिपुरलाई बताए।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तले पनि परिवारलाई उद्‍धृत गर्दै उनको नमूनाको दुईवटा परीक्षण हुने र दोस्रोको नतिजा नआइ भन्न नसकिने बताइन्। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता ललितकुमार बस्नेतले पनि पुनाको परीक्षणको नतिजा नआइकन केही भन्न नसकिने बताए।

केहीअघि मिर्गौला प्रत्यारोपण गराएका यी व्यक्ति करिब तीन साताअघि भारतमा एक वैवाहिक कार्यक्रममा सरिक भइ फर्किएका थिए। कलकत्ता, नयाँ दिल्ली र देहरादुन हुँदै मार्च ४ मा वीरगञ्ज फर्किएका उनलाई मार्च १८ देखि ज्वरो देखिएको थियो। स्वासप्रश्वासमा समेत समस्या भएपछि उनलाई बिहीबार वीरगन्ज हेल्थ केयरमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समा पटना पुर्‍याइएको थियो।

पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले आफ्‍नो फेसबुक पेजमा कोरोना पुष्टि भएको लेखे पनि पछि त्यो पोस्ट हटाएका छन्। पटनामा रहेका आफन्तले उनको स्वास्थ्यमा आइतबार सुधार देखिएको बताएका छन्।


प्रतिक्रिया