मंगलबारदेखि विराटनगर लकडाउन

चैत्र १०, २०७६ | मोरङ

कोरोनाको संभावित संक्रमणको जोखिमबाट बच्न विराटनगर महानगरपालिकाले मंगलबारदेखि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको छ । उद्योगी, व्यवसायी, नागरिक समाजलगायत सम्बन्धित सरोकारवालासँग छलफलपछि महानगर कार्यपालिकाले निर्णय गरी लकडाउनको घोषणा गरेको हो ।

विराटनगर महानगरकी उपप्रमुख इन्दिरा कार्कीले कोरोनाको संभावित संक्रमण फैलिन नदिनका लागि महानगरस्थित संघ, संस्था, उद्योगी, व्यवसायी, नागरिक समाजसँगको छलफलपछि कार्यपालिकाको निर्णयले लकडाउन गर्ने निर्णय गरिएको बताउनुभयो । 

‘कोरोना भाइरस आफै लाग्दैन र त्यो बाहिरबाट मात्रै आउने भएकाले सर्वसाधारणले अत्यावश्यक काम बाहेकको अबस्थामा घर बाहिर निस्किन नपाउने गरी लक डाउन गरेका छौं,’ उहाँले भन्नुभयो, ‘कोही बिरामी भएको अबस्थामा औषधी, दुध, तरकारी जस्ता अत्यावश्यक सामग्री खरिद गर्नका लागि समूहमा नभई १/२ जना मात्रै घर बाहिर निश्किन पाउँछ ।’

महानगरस्थित औषधी, अस्पताल, दुध, खानेपानी, तरकारी पसलहरु मात्रै मंगलबारबाट खुल्ला रहने र बाँकी सम्पूर्ण पसल, हाटबजार, उद्योग, कलकारखाना, विकास निर्माण लगायतका काम बन्द रहने र एम्बुलेन्स, शव बाहन, खानेपानीको गाडी बाहेकका सवारी साधनसमेत बन्द रहने निर्णय गरिएको कार्कीले बताउनुभयो ।

यहाँ कोरोनाको महामारी फैलिन नदिनका लागि संकटको बेलामा गरिएको लकडाउन सर्वसाधारणको सुरक्षाका लागि भएको उहाँको भनाई थियो ।

महानगरले सोमबार महानगरभरि मंगलबारदेखि हुने लकडाउनको बारेमा माइकिङ्ग गरिरहेको छ ।

महानगरले हालसम्म रानी नाका, एकीकृत जाँच चौकी, विराटनगर विमानस्थल र बसपार्कमा हेल्थ डेस्क स्थापना बाहेक कोरोनाको संक्रमण फैलिन नदिनका लागि कुनै तयारी नगरेको भन्दै महानगरबासीले आलोचना गरिरहेको छ । 


प्रतिक्रिया