लक डाउन नागरिककै हितका लागि गरिएको हो सहयोग गरौँ : गृहमन्त्रालय

चैत्र १२, २०७६ | काठमाडौं

कोभिड १९ को सक्रमण रोक्नका लागि सरकारले लक डाउनको निर्णय गरेकाले त्यसलाई सहयोग गर्न गृहमन्त्रालयले आग्रह गरेको छ । लकडाउनको पहिलो दिन हिजो छिटपुट रुपमा मानिसहरु बाहिर निस्कने तथा भेला र जम्मा भएको घटना सार्बजनिक भएसंगै मन्त्रालयले त्यसमा गम्भीर हुन आम सर्बसाधारणमा आग्रह गरेको हो ।

 गृहमन्त्रालयलका प्रबक्ता केदारनाथ शर्माले नागरिकका हितका बिषयलाई ध्यानमा राखी सरकारले पछिल्लो निर्णय लिएकाले त्यसमा नागरिकले पनि आफ्नो जिम्मेबारी निभाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । रेडियो कानितपुरसँग कुराकानी गर्दै प्रवक्ता शर्माले भन्नुभयो– यो बाध्यात्मक अवस्थामा नागरिकले पनि सरकारलाई सहयोग गर्नुपर्छ । रोगको संक्रमण नियन्त्रणका लागि सरकारसँगै नागरिकको दायित्व पनि उत्तिकै छ ।

लक डाउनको समयमा मात्र नभई सक्रमणको जोखिम नघटेसम्म नागरिक आफैँले सतर्कता अपनाउनुपर्ने शर्माको भनाई छ । हिजो भारतसँगका विभिन्न नाकाबाट नेपालीहरु स्वदेश फर्कने क्रम बढेकाले पनि केही घटना भएको बताउँदै आजबाट त्यो पुर्णत: बन्द हुने उहाँको भनाई छ । गएरातीबाट भारतले पनि लकडाउन गरेको अवस्थामा सीमा नाकाहरु स्वत: सील भएकाले आजबाट नेपालमा पनि त्यसको प्रभाव देखिने उहाँले बताउनुभयो ।

भाईरसको सक्रमण नियन्त्रणका लागि बिभिन्न माध्यमबाट आएका सुचना तथा सुरक्षात्मक उपायहरु अबलम्बन गरी आफु र परिवारलाई सुरक्षित राख्न मन्त्रालयले आग्रह समेत गरेको छ ।

नाका प्रवेश गर्न नदिने

सरकारले आजबाट नाका प्रवेश गर्न नदिने भएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको हिजो बसेको बैठकले सीमा नाकामा जम्मा भएका नेपालीहरुलाई अन्तिम पटक नेपाल प्रवेश गर्न अनुमति दिएको थियो । आजदेखि भने कसैलाई पनि प्रवेश नदिइन सरकारको निर्देशन छ । सरकारले सम्बन्धित स्थानीय तहमा क्वारेन्टाईनमा बस्ने सर्तमा कैलालीको गौरीफन्टा, झापाको काँकडभिट्टा र कञ्चनपुरको गड्चौकी नाकामा अलपत्र परेका नेपालीहरुलाई स्वदेश प्रवेशको अनुमति दिएको थियो ।


प्रतिक्रिया