कोरोना संक्रमितका परिवारलाई बोक्न मान्दैनन् एम्बुलेन्स

चैत्र १५, २०७६ | धनगढी

कोरोना भाइरस संक्रमणको आशंकामा सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका धनगढीका ३४ वर्षीय युवकमा संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक भएसँगै प्रहरीले उनको पृष्ठभूमि खोज्न सुरु गरेको थियो । 

त्यसै क्रममा शुक्रबार रातितिर धनगढी उपमहानगरपालिका–५ मा रहेको उनको घरमा प्रहरी पुगेको थियो । प्रहरीले घरबाट उनको परिवार संख्या सहित आवश्यक रिपोर्ट लिएर अस्पताल लैजाने भनेको भएपनि एम्बुलेन्स नपाएको भन्दै प्रहरी उनको घरबाट फर्किएको संक्रमित युवाका बुबाले बताए । 

आठ जना सदस्य रहेको उनको परिवारका सदस्यहरु दोहोरो तनावमा छन् । एकातिर छोरा अस्पतालमा छ । बिरामीलाई सबैले चटक्क छाडेको खबरले उनीहरु छटपटिरहेका छन् । अर्कोतिर आफूहरुले क्वारेन्टाइनमा जान नमानेको भन्ने हल्ला फैलाइएकोमा दुख लागेको ती युवाका बुबाले बताए । ‘एम्बुलेन्स पठाउँछौ भनेर प्रहरी घरबाट फर्किएका हुन्’ उनका बुबाले भने, ‘हिजोदेखि हामी अन्यौलमै छौँ ।’ उनले शनिबार बिहानसम्म आफूहरु घरमै होसियारी पूर्वक बसेको बताए ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एम्बुलेन्स नपाएर परिवारहरुलाई अस्पताल ल्याउन नसकिएको भन्ने खबर सुनेपछि सेती प्रादेशिक अस्पतालमा सोधपुछ गरेको बताउनुभयो । मेडिकल सुपरिटेण्डेन्टले एम्बुलेन्सको चालक अत्तरियामा रहेको आफ्नो घर गएको र शनिबार बिहानै फर्केर परिवारलाई अस्पतालमा ल्याइने जानकारी गराएको मन्त्री सुवेदीले बताउनुभयो । 

उता बिरामी युवाले आफूलाई अस्पतालमा अलपत्र जस्तै पारिएको बताएका छन् । ती युवाले भने, ‘हिजोदेखि कोही पनि फर्केको छैन । तातो पानी समेत पाइएको छैन ।’ डाक्टरले टेलिफोनबाट बारम्बार आफ्नो यात्रा पृष्ठ भूमिबारे सोधपुछ मात्र गर्ने गरेको उनले बताए । उपचारमा संलग्न चिकित्सकका अनुसार अहिलेसम्म उनको अवस्था सामान्य छ । 

‘उनलाई आइसीयुमा पनि राख्नुपर्ने अवस्था छैन’ एकजना चिकित्सकले भने । तर, डाक्टरहरु समेत यतिबेला भयग्रस्त मानसिकतामा देखिन्छन् । कोरोना संक्रमित बिरामीको उपचार गर्ने क्रममा आवश्यक पर्ने आधारभूत पहिरन र उपकरण समेत नभएको भन्दै उपचारमा संलग्न डाक्टरहरुले गुनासो गरिरहेका छन् । 

दुबईमा काम गर्दै आएका उनी फ्लाईट ईमरेट्सको ईके ०१५० नम्बरको उडानबाट दुबईबाट दिल्ली आएका थिए । त्यहाँबाट उनी शुक्रबार काठमाण्डौं पुगेका थिए । उनी शनिबार दिउँसो १२ बजे बुद्ध एयरको उडानबाट काठमाडौंबाट नेपालगञ्ज आएका थिए । नेपालगञ्जबाट उनी महेन्द्रनगर जाने हाइसमा अत्तरिया झरेका थिए । 

अत्तरियाबाट उनी त्यही दिन घर पुगेका थिए । घर बस्दा उनी आफन्त र नातागोतालाई भेटघाट गरेका थिए । शनिबार साँझदेखि मंगलबारसम्म उनी घरमै परिवारसँग बसेका थिए । घर पुगेको दोस्रो दिन राति ज्वरो आएपछि तेस्रो दिन चैत ११ गते उनी आफै सेती प्रादेशिक अस्पताल धनगढीमा जचाउँन गएका थिए । त्यही दिनदेखि उनी अस्पताल बसेका थिए । मन्त्रालयले शुक्रबार उनलाई पोजेटिभ रहेको पुष्टि गरेको थियो । 


प्रतिक्रिया