झुलाघाट नाकामा अलपत्र परेका १८६ जनाको उद्वार

चैत्र १५, २०७६ | बैतडी

नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटमा अलपत्र परेका नेपालीको शुक्रबार उद्वार गरिएको छ । जिल्ला सुरक्षा समितिको पहलमा उनीहरुको उद्वार गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो । 

दुई देशको सीमा भएकोले भारतलाई आग्रह गरी उनीहरुको सबै वस्तुस्थिति हेरेर सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । साथै संघ, प्रदेश र सुरक्षा निकायसँगको समन्वयमा सीमामा रोकिएका उनीहरुलाई घर फर्काइएको उहाँले बतानुभयो ।

भारतको पिथौरागढबाट हिँडेर आएका उनीहरु विगत २/३ दिनदेखि सीमामा रोकिएका थिए । उद्धार गरिएकाहरु मध्ये ८२ जना बझाङ, ९ जना डडेल्धुराका थिए भने अन्य सबै बैतडीका थिए । जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको टोलीले उनीहरुको सबै स्वास्थ्य चेकजाँच पनि गरेको थियो । सबैको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताउनुभयो ।

सुरुमा दशरथचन्द नगरपालिकाको सहयोगमा नगरपालिकाको दानेश्वर मावी बाराकोटको विद्यालयको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थियो । शनिबार उनीहरुलाई सम्बन्धित जिल्ला र वडामा पठाउने व्यवस्था गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किसन चन्दले बताउनुभयो ।

यस्तै, केहिदिन अघिबाट उच्च ज्वरो आएपछि जिल्ला अस्पताल बैतडीको आइसोलेशनमा रहेकी दशरथचन्द नगरपालिका–७ की ५८ वर्षीय महिलाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । रिर्पोट नेगेटिभ आएसँगै उनको स्वास्थ्यमा पनि सुधार आएको छ । आशंका गरेर भर्ना गरिएकी महिलाको अवस्था सामान्य भएकोले शनिबार डिस्चार्जको तयारी भइरहेको अस्पतालले जनाएको छ ।

साथै, लकडाउनको अवज्ञा गरेको भन्दै बैतडी प्रहरीले शुक्रबार ८ जना र एक सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा ल्याएर सम्झाई/बुझाइ छोडिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया