विदेशबाट आएका धमाधम क्वारेन्टाइनमा

चैत्र १५, २०७६ | लमजुङ

कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएका खाडीमुलुक, भारत लगायत देशबाट आएकालाई क्वारेन्टाइनमा राख्न थालिएको छ । स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा विदेशी समेत रहेका छन् । मर्स्याङदी गाउँपालिका–५ घेर्मुको आमा समूहको सामुदायिक भवनमा २ जना जर्मनी क्वारेन्टाइनमा बसेका छन् । विदेशबाट आएका एकजना स्थानीय गंगामिलन माविमा क्वारेन्टाइनमा बसेका स्थानीय खड्ग गुरुङले बताए । 

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले विदेशबाट आएकालाई खोजी गरी क्वारेन्टाइन्मा राख्न थालिएको बताउनुभयो । क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले विदेशबाट आएका, भारतबाट आएकालाई स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसाउन थालिएको बताउनुभयो । 

बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले विदेशबाट आएका र भारतबाट आएकालाई होम क्वारेन्टाइन साथै स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा राख्न थालिएको बताउनुभयो । मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले विदेश साथै भारतबाट आएकालाई क्वारेन्टाइनमा बस्न लगाएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा गठित क्वीक रेस्पोन्स टीम (क्युआरटी) का अनुसार क्व्होलासोंथ गाउँपालिका–८ घाम्राङबेंसीको चन्द्रोदय आधारभूत विद्यालयमा दुबईबाट आएका सोमबहादुर परियार सहित ५ जनाको परिवार क्वारेन्टाइनमा बसेको छ । वडा नं. ९ को टक्सारस्थित थल्जुकन्या आधारभूत विद्यालयमा दुबईबाट आएका लोकबहादुर विकसहित उनको ८ जनाको परिवार क्वारेन्टाइनमा बसेको छ । 

भारतबाट आएका स्थानीयको परिवार पनि क्वारेन्टाइन बसेको छ । मध्यनेपाल नगरपालिका ६ को इशानेश्वर क्याम्पसमा कतारबाट आएका झपेन्द्र विक साथै भारतबाट आएका ६ जना क्वारेन्टाइन बसेको छ । वडा नं. ७ को कुसुमाकर माविमा भारतबाट आएका ३ जनालाई क्वारेन्टाइन बसेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं क्युआरटी संयोजक अनिलकुमार शाहीका अनुसार चैत ६ गते दुबईको शारजाहबाट एयर अरेबियाको जहाज चढेर चैत ६ गते आएका मर्स्याङदी गाउापालिका ५ का आइतसिंह गुरुङ, बेंसीसहर ४ का सोमराज विक, राइनास ४ का डम्बरदेव काडेल र बेंसीसहर २ का कृष्णकुमार थापा क्वारेन्टाइनमा रहेका छन् । आइतसिंह स्कूलको क्वारेन्टाइनमा बसेका छन् भने अरु होम क्वारेन्टाइनमा बसेका छन् । मर्स्याङदी गाउँपालिका ९ का विष्णुमणि भण्डारी काठमाडौंमा होम क्वारेन्टाइनमा रहेको बुझिएको उनले बताए । आशिष गुरुङको भने ठेगाना खुल्न सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्लामा गठित कमाण्ड पोष्टका संयोजक लक्ष्मणबहादुर खड्काका अनुसार कोरोना संक्रमित खाडी मुलुक साथै भारतबाट आएकाको खोजी गरी उनीहरुलाई क्वारेन्टाइनमा बस्न लगाएको छ । लमजुङमा शनिबारसम्म ७ सय ८५ क्वारेन्टाइन निर्माण गरेको तथ्यांक छ । 

क्व्होलासोंथर गाउँपालिकाले सबैभन्दा बढी ४ सय ३७ बेडको क्वारेन्टाइन बनाएका छन् । बेंसीसहर नगरपालिकाले १ सय ६०, सुन्दरबजार नगरपालिकाले १ सय ३४, मध्यनेपाल नगरपालिकाले ३४ साथै राइनास नगरपालिका र दोर्दी गाउँपालिकाले १०/१० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेका छन् । मर्स्याङदी र दोर्दी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनबारे जानकारी नआएको क्युआरटीले जनाएको छ ।


प्रतिक्रिया