क्वारेन्टाइनमा बसेका एक सय जना घर फर्किए

वैशाख ३, २०७७ | विराटनगर

मोरङको विभिन्न स्थानका क्वारेन्टाइनमा बसेका एक सय जनालाई घर पठाइएको छ । जिल्लाका विभिन्न ६ स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका १ सय ७६ मध्ये एक सय जनालाई घर पठाइएको प्रहरीले जनाएको छ । 

क्वारेन्टाइनमा बस्नेहरुमा संक्रमणको लक्षण नदेखिएपछि घर पठाइएको हो । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित कोशी अस्पतालमा कोरोना संक्रमण भए/नभएको परीक्षण हुँदै आएको छ । यसबाहेक विभिन्न स्थानमा र्‍यापिड टेस्ट विधि मार्फत पनि प्रारम्भिक परीक्षण भइरहेको छ । मोरङको टाँडीस्थित आर्मी क्याम्पसमा रहेका १ सय ५१ मध्ये ९७ जनालाई पनि घर पठाइएको छ । 

यसैगरी घिनाघाटस्थित प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा बसेका ११ मध्ये ३ जना घर गएका छन् । कोशी अस्पतालमा आइसोलेसनमा राखिएका १२ जनामध्ये ११ जना घर फर्केका छन् । उनीहरुको स्वाब नमूना परीक्षणमा संक्रमण नदेखिएपछि घर फर्काइएको प्रहरीले जनाएको छ । त्यहाँ अब एक जना मात्र छन् । उनी चिकित्सकको रेखदेखमा बसिरहेका छन् । 

यसैगरी, गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसनमा बसेका तीनैजनालाई डिस्चार्ज गरिएको छ । ती बाहेक विराटनगरस्थित नेशनल ट्रेडिङमा ५०, ग्रामथानस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा १८, पथरी अस्पतालमा ८ शैय्याको आइसोलेसन राखिएको छ । त्यहाँ हालसम्म कसैलाई पनि आइसोलेसनमा नराखिएको जनाइएको छ ।

जहदास्थित दुर्गा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा दुई जना बस्दै आएका छन् । यसैगरी धनपालथानको स्वास्थ्य चौकीमा एक, सुनवर्षी प्राथमिक स्वास्थ्य केन्द्रमा ८ र रंगेलीस्थित अस्पतालमा ३ जना बस्दै आएका छन् । सबै क्वारेन्टाइनमा गरी २ सय ४८ शैय्या बनाइएको छ । मोरङका विभिन्न ५ स्थानमा ९६ शैय्या रहेको आइसोलेसन केन्द्र छन् । 


प्रतिक्रिया