कलैया उपमहानगरका मेयरसहित १२ जना धरौटीमा रिहा

वैशाख ११, २०७७ | बारा

प्रहरीले सडेको दाल राहतमा वितरण गर्न विक्री गरेको आरोपमा पक्राउ परेका कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित १२ जना बुधवार अबेर राती धरौटीमा रिहा भएका छन् । प्रहरीले सरकारी वकिल कार्यालयमा कालोबजार गरेको अनुसन्धान प्रतिवेदन पेस गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायधिवक्ता महेन्द्र थापा अभियुक्तहरुसित बयान लिन प्रहरी कार्यालयमै पुगेका थिए ।

बयानपछि उनले अभियोग पत्र दर्ता गराएका थिए । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनीहरु धरौटी तिरेर रिहा भएका हुन् । मेयर यादव पक्राउ परेको भोलिपल्ट नै रिहा भएका हुन् भने उनका भाई रविन्द्र ९रोशन० यादव, कोल्डस्टोरका कर्मचारी बच्चु यादव र वडा २७ का वडाध्यक्ष रेयाजुल हक पक्राउ परेकै दिन धरौटी तिरेर रिहा भएका हुन् ।

जिल्ला न्यायधिवक्ता थापाकाअनुसार मेयर यादव र दाल व्यापारी तेजकरण जैनले जनही २ लाख ८१ धरौटी तिरेका हुन् । कलैया उपमहानगरपालिका वडा १ का वडाध्यक्ष हरिओम सोनार, ७ का सर्फुल्लाह अंसारी, ११ का सर्वनारायण चौधरी, १३ का राजनप्रसाद कुर्मी, २६ का महेश साह, २० वडा सचिव खेदु मियाँ अंसारी, २७ का रेयाजुल हक, मेयरका भाई रविन्द्र, कोल्डस्टोरका कर्मचारी कृष्ण यादव र बच्चुले जनही ६० हजार धरौटी तिरेका हुन् ।

धनलक्ष्मी दाल मिलका मालिक जैनले चार बर्ष अघि उक्त कोल्डस्टोरमा दाल भण्डारण गरेको थियो । त्यस दालमध्ये ५० क्वीन्टल भन्दा बढी दाल मेयर यादवले नजिकका वडाध्यक्षहरुसित विक्री गरेका थिए । कलैया उपमहानगरपालिका–७ मा रहेको यादव कोल्डस्टोरमा भण्डारण गरी राखिएको रहरको दाल मेयरबाट खरिद गरीे वडाध्यक्षहरुले कलैया उपमहानगरको विभिन्न वडामा राहत बाँडेका थिए ।

दाल भण्डारण गर्ने मिल सञ्चालकले दाल छुटाउन ढिलाई गरेकोले कोल्डस्टोरको काम सम्हाल्दै आएका मेयर यादव र उनका भाई रविन्द्रले दाल आफ्नो स्वामित्वमा पारी गत साता विक्री गरेका थिए । खाद्य ऐन २०३२ अन्तर्गत कालोबजार मुद्दामा सबैमाथि अनुसन्धान गरी प्रहरीले मुद्दा पेस गरेको थियो । दाल मिल सञ्चालक जैनले भाडामा राखेको दाल कोल्डस्टोरबाट छुटाउन ढिलाई गरेकोले कोल्डस्टोरको काम सम्हाल्दै आएका मेयरले उक्त दाल आफ्नो स्वामित्वमा पारी वडाध्यक्षहरुसित उधारोमा विक्री गरेका थिए ।

जैनले आफुमाथि मिटर ब्याज जोडेर ४० लाख रुपैयाँ पुऱ्याएकोले दाल छुटाउन ढिलो भएको बताए । दाल प्रशोधन गरेर पशु आहार बनाउने आफ्नो योजना रहेको भएपनि कोल्डस्टोरले बिना सहमति दाल विक्री गरेको उनले प्रहरीलाई बयान दिएका छन् ।

प्रमुख जिल्ला अधिकारीको आदेशमा कोल्डस्टोरसहित वडाहरुमा बाँडिएको दाल प्रहरीले बरामद गरी परीक्षणका लागि खाद्य प्रवृधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएपछि नियन्त्रण कार्यालयले दाल गुणस्तरहीन भएको पुष्टि गरेको थियो । त्यसपछि प्रहरीले मुद्दा अनुसन्धान गर्न थालेको थियो । कसुर ठहर भएमा २ लाख जरिवाना र १ बर्षसम्म कैद सजाय वा दुबै हुनसक्ने कानुनी व्यवस्था छ । बाँडिएका दालबाहेक कोल्डस्टोरमा भण्डारण गरिएको बाँकी ३२ हजार किलो ९३२ टन० दाल प्रहरीले सिल गरिसकेको छ । 


प्रतिक्रिया