मोरङको विभिन्न स्थानमा रहेको आइसोलेनबाट ४३ जना डिस्चार्ज

वैशाख २७, २०७७ | मोरङ

– मोरङका विभिन्न स्थानको आइसोलेसन केन्द्रमा राखिएका ६४ जनामध्ये ४३ जना उपचारपछि डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा ३४ जना कोरोना संक्रमण पुष्टि भएकालाई राखिएको थियो । तीमध्ये १४ जना उपचारपछि डिस्चार्ज भएका छन् । सो केन्द्रमा अब २१ जना छन् । उनीहरुको कोसी अस्पतालका चिकित्सकहरुले उपचार र हेरचाह गरिरहेका छन् ।

यसैगरी अरु चार स्थानको आइसोलेसन केन्द्रमा रहेका ३० जना मध्ये २६ जना डिस्चार्ज भइसकेका छन् । शंकास्पद बिरामीहरुलाई ती केन्द्रमा राखिएको हो । स्वाब नमुना परीक्षणपछि रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको मोरङ प्रहरीले जनाएको छ । मोरङका विभिन्न स्थानीय तहमा बनाइएका ९ वटा क्वारेन्टाइनमा बसेका २ सय २५ जनामध्ये २ सय ११ जना घर फर्किएका छन् । अब क्वारेन्टाइनमा बस्नेको संख्या तीनजना महिलासहित १४ मात्र छ ।

विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिएकाहरुको पछिल्लो परीक्षण गर्दा संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको कोसी अस्पतालले जनाएको छ । डिस्चार्ज गरिएका केहीलाई विराटनगरकै रानीस्थित एक क्वारेन्टाइनमा राखिएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । 


प्रतिक्रिया