बर्षा र हावा हुण्डरीले ताप्लेजुङमा क्षती

जेष्ठ ३, २०७७ | ताप्लेजुङ

बर्षासँगै आएको हावा हुण्डरिले ताप्लेजुङको फुङलिङ नगरपालिकामा ठूलो क्षती पुर्‍याएको छ । हावाहुण्डरीले जिल्ला खेलकुद विकास समितिको भवनको छानो पनि उडाएको छ । 

पानी कार्यालय भवन भित्र पसेपछि कम्प्युटर र आन्य कागजातहरु कामै नलाग्नेगरी बिग्रीएको खेलकुद विकास समितिका अधिकृत यज्ञनिधि पौडेलले बताउनुभयो । हावाहुरीले हाङदेवा क्षेत्रमा ठुलठुला रुखहरु लडाएको छ । 

उत्तिस चिलाउनेका रुखको कुनैको जरै उखेलिएको छ भने अधिकांस भाँचीएको छ । किसानको मकै, गहुँ लगायतका बाली लडाएर सोत्तर बनाएको छ । नगरपालिका र जिल्ला प्रहरी कार्यालयले क्षतीको तथ्यांक संकलनको काम भइरहेको जनाएका छन् ।

बाढी पसेपछि सदरमुकाम फुङलिङ बजार भित्रका पसलहरुमा समेत क्षती पुगेको छ । सरस्वती बुक्स एण्ड स्टेशनरीको सबै पुस्तकहरु पानीमा डुबेको छ । सदरमुकामदेखि सुकेटारसम्मको सडकपनि अवरुद्ध भएको छ । ठाउँ/ठाउँको डिस्कनो भत्किएर अवरुद्ध भएको हो ।

यसैबीच, फुङलिङ नगरपालिका ९ हिरेवा खोलामा एकजना महिलाको शव फेला परेको छ । खोलाको बिचमा भेटिएको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलको आवश्यक प्रकृया पुरा गरी उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो 


प्रतिक्रिया