दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ
माघ २, २०८१ | काठमाडौं
दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक–यओललाई प्रहरीले पक्राउ गरेको छ । सुरक्षाकर्मी र भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका टोलीले राजधानी सोलस्थित निवासबाट युनलाई आज बिहान पक्राउ गरेको हो । दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो ।
गत डिसेम्बर ३ मा मार्शल ल घोषणासँग सम्बन्धित विद्रोहको आरोपमा युनलाईपक्राउ गरिएको हो । यसअघि पनि युनलाई पक्राउ गर्ने पहिलो प्रयास भने असफल भएको थियो । निलम्बित राष्ट्रपतिलाई पक्राउ गर्न प्रहरी र अनुसन्धानकर्ता युनको निवासभित्र प्रवेश गरेका थिए ।
पक्राउपछि युनले भिडियो सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान अवैधानिक भएको बताउनु भएको छ । भ्रष्टाचार अनुसन्धान कार्यालयमा उपस्थित हुन सहमत भएको युनको भनाईलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आफूमाथिको अनुसन्धान अवैध भएपनि रक्तपात नहोस् भनेर सो निर्णय लिएको युनको भनाई छ । युनलाई पक्राउ गर्न अदालतले गत डिसेम्बर ३१ मा पक्राउ पुर्जी जारी गरेको थियो ।
डिसेम्बर ३ मा युनले अप्रत्यासित रुपमा मार्सल ल लागू गर्ने घोषणा गर्नु भएको थियो । तर, चौतर्फी विरोधपछि सो निर्णण फिर्ता लिन युन बाध्य भएको बताइएको छ । सोही विषयलाई लिएर संसद्ले डिसेम्बर १४ मा युनविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो । सो कदमपछि विपक्षी दलले दर्ता गराएको महाभियोग प्रस्तावमा युनको पार्टीका सांसदले पनि मतदान गरेका थिए ।महाभियोग पारित भएसँगै निलम्बनमा परेका युनविरुद्ध संवैधानिक अदालतमा सुनुवाइ भइरहेको छ ।