यू–१९ महिला टी–२० विश्वकप अघिको दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित
माघ २, २०८१ | काठमाडौं
आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट अघिको दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित भएको छ ।
मलेसियाको रोयल सेलाङ्गोरस्थित मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको ५८ रनको झिनो लक्ष्य अमेरिकाले १४ ओभरमा ५ विकेटको क्षतिमा पूरा ग¥यो ।
अमेरिकाका लागि इसानी वाघेलाले सर्वाधिक २४ रनको योगदान गरिन् । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ५८ रन मात्र बनाउन सक्यो । नेपालका लागि सना प्रवीणले १२ र कप्तान पूजा महतोले १० रन बनाईन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि भएको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग९ रनले पराजित भएको थियो ।यू–१९ महिला टी–२० विश्वकप आगामी शनिवार मलेसियामा सुरु हुँदैछ । विश्वकपमा १६ टिमको सहभागि छन् । समूह ‘डी’ मा रहेको नेपालले आगामी शनिबार बंगलादेशविरुद्ध खेलेर यू–१९ विश्वकपको यात्रा प्रारम्भ गर्नेछ । त्यसपछि नेपालले जनवरी २० मा स्कटल्यान्ड र जनवरी २२ मा अस्ट्रेलियाविरुद्ध खेल्नेछ ।