झापाका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ १४, २०७७ | विराटनगर, बिर्तामोड

स्वास्थ्य परीक्षणको दायरा बढाएसँगै झापामा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्यमा पनि बढेको छ । बुधबार थप १७ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा ५ वटा पालिकामा गरी कोभिड–१९ संक्रमितको संख्या ५४ पुगेको छ । 

पालिकाहरुले आफै भाइरस ट्रान्सपोर्ट मिडिया (भीटीएम) किट खरिद गरेर स्वास्थ्य परीक्षणलाई तीब्रता दिएसँगै संक्रमितको संख्या पनि बढेको हो । पालिकाका स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयले थ्रोट स्वाब नमूना संकलन गर्ने तालिम दिएपछि जिल्लामा स्वाब संकलन तीब्र बनेको हो । सीमावर्ती कचनकवल गाउँपालिकामा २ सय ६८ जनाको स्वाब नमूना संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

 एक सय ६ जनाको पीसीआर नतिजा आउन बाँकी रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वप्रसाद यादवले जानकारी दिनुभयो । भारतको दिल्ली, मुम्बई लगायत स्थानबाट लुकीछिपी नेपाल प्रवेश गरेका गाउँपालिकाबासीलाई क्वारेन्टाइन र होल्डिङ एरियामा राखेर स्वाब नमूना संकलन गर्ने कार्यलाई तीब्रता दिएको यादवले बताउनुभयो । 

गौरादह नगरपालिकामा ४४ जनाको पीसीआर परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका दुवै जना भारतको मद्रासबाट एक हप्ताअघि मात्र लुकीछिपी नेपाल प्रवेश गरेका थिए ।

भारतबाट लुकीछिपी नेपाल भित्रिनेको संख्या बढेपछि जिल्लामा कोभिड–१९ परीक्षण पनि बढाएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिनुभयो । बैशाख १४ मा दिल्ली पुगेर फर्किएका एक पुरुषमा संक्रमण पुष्टि भएपछि बाह्रदशी गाउँपालिकामा मंगलबारसम्म एक सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये थप एकमा गरी बाह्रदशीमा दुई जनामा संक्रमण पुष्टि भएको हो । ७६ जनाको पीसीआर परीक्षण गर्दा झापा गाउँपालिकामा पनि एक जनामा कोभिड–१९ पुष्टि भएको छ ।

बैशाख १२ गते एक वृद्धमा संक्रमण पुष्टि हुँदा मंगलबारसम्म दमक नगरपालिकामा एक सय ६८ जनाको पीसीआर परीक्षण गरिसकेको स्वास्थ्य कार्यालयका फोकल पर्सन चम्लागाईले बताउनुभयो । 

संक्रमण पुष्टि नभएका बिर्तामोड नगरपालिकामा २०८, भद्रपुर नगरपालिकामा ८५, मेचीनगर नगरपालिकामा ५०, बुद्धशान्ति गाउँपालिकामा ४४, हल्दिबारी गाउँपालिकामा ३८, अर्जुनधारा नगरपालिकामा र गौरीगञ्ज गाउँपालिकामा ३०/३०, कनकाई नगरपालिकामा १९, शिवसताक्षी नगरपालिकामा ७ र कमल गाउँपालिकामा ३ जनाको पीसीआर परीक्षण गरिएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका १५ वटै पालिकामा गरी एक हजार २ सय १८ जनाको पीसीआर तथा एक हजार ८ सय ४२ जनामा र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षण गरिएको छ ।

यस्तै, प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ । यसअघि देखिएका संक्रमितहरुको सम्पर्कमा आएका र भारतबाट आएकाहरुको स्वाब नमूना संकलन गरी विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । प्रदेश १ का १४ मध्ये सात जिल्लामा संक्रमण पुष्टि भइसकेको छ । 

झापा, उदयपुर, मोरङ, सुनसरी, भोजपुर, खोटाङ र धनकुटामा संक्रमित भेटिएका हुन् । अधिकांश संक्रमित भारतबाट आएकाहरु छन् । संक्रमितहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिएको छ । त्यहाँ राखिएकामध्ये २८ जना डिस्चार्ज गरिएका छन् ।


प्रतिक्रिया