बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

जेष्ठ १४, २०७७ | मकवानपुर

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख विष्णु प्रशाईंले मंगलबार प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम बुधबार बहुमतले पारित भएको हो । 

नीति तथा कार्यक्रम माथि प्रदेश सभा सदस्यले उठाएका प्रश्नको जवाफ दिंदै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोभिड–१९ रोकथामका लागि सरकारले काम गरिरहेको बताउनुभयो । संक्रमण रोकथामको विभिन्न कार्यका लागि हालसम्म १७ करोड रुपैयाँ खर्च भईसकेको जानकारी दिंदै मुख्यमन्त्री पौडेलले स्थानीय तहलाई आवश्यकताका आधारमा थप बजेट उपलब्ध गराउने बताउनुभयो । 

प्रदेशसभा सदस्यले भने कोरोना संक्रमण नियन्त्रणमा सरकार प्रभावकारी काम गर्न नसकेको बताएका थिए । प्रदेश मातहतका स्वास्थ्य संस्थाको स्तरोन्नति गर्ने र स्वास्थ्य क्षेत्रमा गर्ने कार्यहरु नीति तथा कार्यक्रममा उल्लेख गरिसकेको उहाँले बताउनुभयो । 

आगामी आर्थिक वर्षबाट प्रदेश सरकारले कृषि क्षेत्रमा अनुदान वितरणमा नयाँ विधि अपनाएको भन्दै उहाँले कृषि क्षेत्रमा दिँदै आएको अनुदान अब बैंक मार्फत भुक्तानी गरिने जानकारी दिनुभयो । मुख्यमन्त्री पौडेलले उद्योगीलाई राहत उपलब्ध गराउनका लागि संघीय सरकारलाई समेत आग्रह गरिएको बताउनुभयो ।

नीति तथा कार्यक्रमको पक्षमा नेकपा सांसद्हरु रहँदा विपक्षमा सदनमा प्रतिनिधित्व गर्ने अन्य दलहरु रहेका थिए । नीति तथा कार्यक्रममा सांसदहरु रमेश पौडेल, निमा लामा, प्रभात तामाङ, पुकार महर्जन, सन्तबहादुर प्रजा, रिता माझी, रिना गुरुङ र शोभा शाक्यले दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।


प्रतिक्रिया