दाङमा थपिए १५ जना कोरोना संक्रमित

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर 

जेष्ठ १४, २०७७ | दाङ

दाङमा बुधबार मात्रै १५ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको स्वाब परीक्षणमा लमही नगरपालिकाका ८ र घोराही उपमहानगरपालिकाका ७ जना संक्रमित भेटिएका हुन् । जसमध्ये १४ पुरुष र एक महिला छन् ।

दाङमा संक्रमित हुनेको संख्या २१ पुगेको छ । यसअघि गढवाका ३ र घोराहीका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी काठमाडौं बस्ने २ र गुल्मीमा बस्ने दाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये तुलसीपुर ४ का पुरुष सञ्चो भएर काठमाण्डौबाट बुधबार घर फर्किसकेका छन् ।

बुधबार १ सय ३६ जनाको परीक्षण भएकोमा दाङमा १५ र पूर्वी रुकुममा ३ गरी १८ जनाको पोजिटिभ रिपोर्ट आएको प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीले बताउनुभयो । पूर्वी रुकुममा दुई पुरुष र एक महिला छन् ।

दाङको घोराही उपमहानगरपालिका १८ का २४, २५, ४० र ४२ वर्षका पुरुष तथा घोराही १० का ३४, ४० र ४० वर्षका पुरुषहरु रहेको उहाँले जानकारी दिनुभयो । यसैगरी लमही १ का २६, लमही २ का १७, ३०, लमही ४ का २६, लमही ५ का २०, २३ र लमही ६ का १८ वर्षीय पुरुष छन् । यस्तै लमही ५ की २० वर्षीया महिला छन् ।

यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका १४ का १८ र २३ वर्षीय पुरुष तथा १५ वर्षीया महिला संक्रमित भएका छन् । संक्रमितहरु भारत, मलेसिया र बाराबाट आएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देवले बताउनुभयो । 

उनीहरुको क्वारेण्टाइनबाट नमूना संकलन गरिएको थियो । हालसम्म प्रतिष्ठानमा २ हजार १ सय ९१ जनाको नमूना संकलन भएकोमा १ हजार ९ सयको परीक्षण भएको र त्यसमध्ये ७८ जनाको रिपोर्ट पोजिटिभ आएको उहाँले जानकारी दिनुभयो । 

परीक्षणमा १ हजार ८ सय २२ जनाको रिपोर्ट नेगेटिभ आएको र २ सय ९१ जनाको परीक्षणको प्रक्रियामै रहको उहाँले बताउनुभयो । दाङमा प्रदेश ५ का बिभिन्न जिल्लाहरुको स्वाव संकलन भैरहेको छ । 


प्रतिक्रिया