विराटनगरको कोभिड उपचार केन्द्रबाट चार जना डिस्चार्ज

जेष्ठ १४, २०७७ | विराटनगर

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा भर्ना चार जना बुधबार डिस्चार्ज गरिएका छन् । उपचारपछि डिस्चार्ज हुनेको संख्या प्रदेश १ मा ३० पुगेको छ । 

कोभिड–१९ उपचार केन्द्रमा राखिएका तीन महिला र एक जना पुरुषलाई डिस्चार्ज गरिएको हो । उनीहरु चारै जना उदयपुरका हुन् । पछिल्लो पटक गरिएको स्वाब नमूना परीक्षणमा उनीहरुमा संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको जनाइएको छ । 

केन्द्रमा अब ३१ जना छन् । झापा, धनकुटा, सुनसरी लगायत जिल्लामा संक्रमित भएकाहरुलाई केन्द्रमा राखेर उपचार र हेरचाह भइरहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । 

प्रदेश १ मा बुधबार थपिएका झापाका १७ जनासहित संक्रमितको संख्या १ सय ४ पुगेको छ । प्रदेशका १४ मध्ये सात वटा जिल्लामा संक्रमित फेला परेका छन् । सबैभन्दा बढी झापामा ५४ जना संक्रमित पुष्टि भइसकेका छन् । 

संक्रमितहरु अधिकांश भारतबाट आएका व्यक्तिहरु छन् । प्रदेशका झापा सहित उदयपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ र भोजपुरमा संक्रमित भेटिएका हुन् । पूर्वका विभिन्न नाकाबाट भारतमा रहेका नेपालीहरुलाई भित्र्याउने क्रम सुरु गरिएको छ । 

मंगलबार मात्र झापा र मोरङका नाकाबाट करीब १३ सय जनालाई नेपाल भित्रिएका थिए । भारतका विभिन्न स्थानबाट सीमा नजिक आएर बसेकाहरुलाई भित्र्याइएको प्रदेश सरकारले जनाएको छ । प्रारम्भिक स्वास्थ्य जाँचपछि उनीहरुलाई विभिन्न क्वारेन्टइन र ’होल्डिङ सेन्टर’ मा राखिएको छ ।


प्रतिक्रिया