गड्डाचौकी नाकाबाट तेस्रो दिन १६ सय भित्रिए

जेष्ठ १४, २०७७ | कञ्चनपुर

भारतमा अलपत्र परेकाहरुलाई भित्र्याउन कञ्चनपुरस्थित गड्डाचौकी नाका खुला गरिएको तेस्रो दिन आज करीब १६ सय जना भित्रिएका छन् । भारतका विभिन्न ठाउँबाट आएका उनीहरुलाई आफ्नै स्थानीय तहको क्वारेण्टाइनमा बस्ने शर्तमा दशगजाबाटै सम्बन्धित जिल्ला पठाइएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलका अनुसार आज १ हजार ५ सय ८६ जनालाई भित्र्याएर सम्बन्धित स्थानीय तहमा पठाइएको हो । उनीहरु सबैको दशगजामै विवरण संकलन र स्वास्थ्य जाँच गरिएको थियो । सोमबारदेखि गड्डाचौकी नाकाबाट नेपालीलाई भित्र्याउन सुरु गरिएको हो । पहिलो दिन २७ सय बढी र दोस्रो दिन करीब ७ सय जना भित्रिएका छन् ।

यसअघि दोधारा चांदनीका विभिन्न नाकाबाट अवैध रुपमा दशगजामा पुगेकालाई रातारात भित्र्याएर पठाइएको थियो । कतिपय महाकाली नदी तरेर समेत आएका थिए । अवैध रुपमा लुकिछिपी आउनेका कारण संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले गड्डाचौकी नाकाबाट भित्र्याउने निर्णय गरेको हो । 

दशगजामा घर फर्किनेको भीड व्यवस्थापन भने निकै कमजोर हुँदै गएको छ । सुरुका दुई दिनको तुलनामा बुधबार व्यवस्थापन कमजोर बनेको हो । जसका कारण संक्रमणको जोखिम समेत अत्यधिक बढाएको छ । दशगजामा घर फर्किनेदेखि सुरक्षाकर्मी र सवारी साधनका चालक र सहचालक एकै हुलमा मिसिएका देखिन्थे । उनीहरुले सामाजिक दुरी समेत कायम गरेका थिएनन् । 


प्रतिक्रिया