कोरोना संक्रमणबाट ललितपुरमा मृत्यु भएकाको शव व्यवस्थापन सेनाले गर्ने

जेष्ठ १५, २०७७ | काठमाडौं

ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारकोक्रममा बुधबार मुत्यु भएका कोभिड–१९ संक्रमितको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाको समन्वयमा गर्ने निर्णय भएको छ ।

ललितपुर महानगरपालिका– २२ बुङमतीका ५६ वर्षीय ती व्यक्तिको शव पशुपतिस्थित विद्युतीय शव दाह गृहमा व्यवस्थापन गर्ने भएको हो । साथै मृतकसँग सम्पर्कमा आएका आफन्त, चिकित्सक, परिवार र टोल बस्तीमा ट्रेृसिङ, ट्राकिङ र टेस्टीङ गर्ने पनि निर्णय भएको जानकारी ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दिनुभयो । उहाँका अनुसार यसका लागि स्थानीय तहसँग समन्वय गर्न स्वास्थ्य कार्यालय प्रमुखलाई जिम्मवारी दिएको छ । 

‘करुवालाई भने अस्पतालमै राखिएका छन्,’ भुसालले भन्नुभयो, ‘तत्कालका लागि मृतकका परिवारलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनेका छौं । स्वास्थ्य कार्यालय ललितपुर प्रमुखले अध्ययन गरि आवश्यक परेमा महानगरको क्वारेन्टाइनमा राख्न सकिन्छ ।’

ललितपुर महानगरपालिका– २२ बुङमतीका ती व्यक्तिको उपचारकै क्रममा मृत्यु भएपछि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई अनिवार्य क्वारेन्टिनमा पठाइएको छ । अस्पतालमा सुरक्षा व्यवस्था र सावधानी अपनाइएको छ । किस्ट मेडिकल कलेजको नया भवनको पाँचौ तलाको एमआईसी कक्ष सिल गर्ने वा नगर्ने भन्ने विषयमा अध्ययन भइरहेको जानकारी स्वास्थ्य कार्यालय ललितपुर प्रमुख डा.खगेश्वर गेलालले दिनुभयो ।

उहाँले मृतक परिवारका सबैको विवरण संकलन भइरहेको बताउनुभयो । ‘मृतकलाई कहाबाट कोरोना सर्यो ? विरामी हुनुअघि कहा कहा गएका थिए ? सबै विवरण संकलन गर्ने तयारी भइरहेको छ,’ गेलालले भन्नुभयो । मृतकलाई जेठ ११ गते अस्पताल ल्याइएको थियो । त्यसक्रममा कोरोना पनि टेस्ट गर्नेक्रममा पोजेटिभ देखिएको हो । उनी कलेजोको विरामी थिए ।


प्रतिक्रिया