अस्पतालले भर्ना नलिएपछि झापाका कोरोना संक्रमति रातभरी गेट बाहिर

जेष्ठ १७, २०७७ | बिर्तामोड–
शुक्रबार कोरोना भाइरसको संक्रमण (कोभिड–१९) पुष्टि भएका झापाका २७ जना संक्रमितलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले भर्ना लिन अस्वीकार गरेको छ ।
अस्पतालले भर्ना नदिएपछि संक्रमितहरु गएराति रातभरी अस्पतालको गेट बाहिरै बसेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपराह्न उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।
संक्रमण पुष्टि भए लगत्तै उनीहरुलाई कचनकवल गाउँपालिका–४ स्थित क्वारेन्टाइनबाट साँझ ६ बजेतिर बस मार्फत धरान लगिएको थियो । तर, धरानस्थित कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभरी गेट बाहिरै बस्न बाध्य भएका हुन् ।
उनीहरुलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिनुभयो ।
‘संक्रमण पुष्टि भएकाहरुलाई धरान नै पठाइरहेका थियौं । मन्त्रालयको समन्वयमा उनीहरुलाई पनि धरान पठाएका हौं’ चम्लागाईले भन्नुभयो, ‘तर, अस्पतालले बेड खाली नभएको भन्दै भर्ना दिएको छैन । संक्रमतिहरु रातिदेखि अस्पतालको गेट बाहिर बसिरहेका छन् ।’
जिल्लामा कोभिड संक्रमितको संख्या १ सय ७ पुगेको छ । उनीहरुमध्ये कचनकवल गाउँपालिकामा मात्र एक सय जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २ जना उपचार पछि घर फर्किएका छन् भने अन्य सबै उपचाररत छन् ।