कांग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने

जेष्ठ १७, २०७७ | काठमाडौं

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने विषयमा छलफल भईरहेको छ । 

ललितपुरको सानेपास्थित पार्टी मुख्यालमा जारी बैठकमा पेश गरिएको प्रस्तावमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भू–भाग समावेश गरी सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदा गर्न संसदीय दललाई निर्देशन गर्दछ ।’ 

केन्द्रीय समिति बैठकमा सदस्यहरुले प्रस्तावको पक्षमा बोलेका छन् । केन्द्रीय सदस्य प्रदीप पौडेलले बैठकमा अहिलेसम्म कुनै पनि सदस्यले विधेयकको विपक्षमा नबोलेको बताउनुभयो । 

प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा पेश गरिएको प्रस्ताव नै अन्तिम निर्णय हुने भएपनि केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि मात्रै निर्णय सार्वजनिक गरिएको बताउनुभयो ।

 सरकारले नयाँ नक्सा जारी गरेपछि निसान छापमा पनि नयाँ नक्सा राख्नका लागि संविधान संशोधनको प्रस्ताव दर्ता भएको हो । यसअघि पार्टीका पदाधिकारीको अनौपचारिक बैठकले पनि प्रस्तावलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।   


प्रतिक्रिया