असारमा मेलम्चीको पानी सुन्दरीजलमा ल्याएर परीक्षण गरिने

जेष्ठ १७, २०७७ | काठमाडौं

आगामी असारमा परीक्षण सुरु भए त्यसको दुई महिना पछि मात्र काठमाडौं उपत्यकामा खानेपानी वितरण हुने भएको छ । हालसम्म सुरुङ मार्ग सम्बन्धी सम्पूर्ण काम सकिनै लागेको र आगामी असारमा मेलम्चीको पानी सुन्दरीजलमा ल्याएर परीक्षण गरिने आयोजनाले जनाएको छ ।

परीक्षण गर्न ४० देखि ६० दिनसम्म लाग्ने खानेपानी आयोजना समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । सरकारले गत बिहीबार सार्वजनिक गरेको बजेट अनुसार आगामी आर्थिक वर्षको सुरु देखिनै काठमाडौंबासीलाई पानी वितरण गरिने उल्लेख छ । 

आयोजनाका अनुसार परीक्षण सफल भएपनि साउनपछि मात्र पानी वितरण गर्न सकिने छ । अहिले सुरुङ भित्रको हावा बाहिर निकाल्न भेन्टिलेसन, सुन्दरीजलमा गेट बनाएर पाइप मार्फत पानी प्रशोधन प्लान्टमा जोड्ने र सुरुङ फिनिसिङ लगायका सबै काम अन्तिम चरणमा पुगेको प्रवक्ता पन्तले जानकारी दिनुभयो । 

लकडाउनका समयमा पनि विभिन्न साइटमा ५० चिनियाँ सहित २ सय जना कामदार कार्यरत रहेका छन । मेलम्चीमा कार्यरत सबै प्राविधिक तथा कामदारलाई कार्यस्थलमै बसोबास र खानाको व्यवस्था गरिएको छ । 

मेलम्ची खोलाको पानी थुनेर सुरुङभित्र पठाउन निर्माणाधिन मुख्य बाधको काम समेत अघि बढिरहेको छ । मुख्य बाँध निर्माणको काम आगामी माघभित्र सक्ने गरी ठेक्का सम्झौता भएको छ । मेलम्चीबाट दैनिक २१ करोड लिटर काठमाडौं उपत्यकामा ल्याउने सरकारको योजना छ । 


प्रतिक्रिया