बाँकेमा सवारी दुर्घटना, १२ जनाको मृत्यु, २१ जना घाइते

जेष्ठ १९, २०७७ | बाँके

बाँकेको राप्ती सोनारी गाउँपालिकामा गए राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती सोनारी गाउँपालिका–२ स्थित छुरे जंगलमा बिग्रेर रोकिराखेको ना ४ ख ९०६४ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको भ्यान ठोक्किँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको बाँकेका ट्राफिक प्रहरी प्रमुख पबिन्द्र बमले जानकारी दिनुभयो । 

मृत्यु हुनेहरुमा ११ पुरुष र एक महिला रहेका छन् । ३३ जना सवार भ्यान अनियन्त्रित भई रोकिराखेको ट्रकमा ठोक्किएको ट्राफिक प्रहरीले बताएको छ । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ । साथै मृतकहरुको शव पनि पोस्टमार्टमका लागि अस्पताल लगिएको ट्राफिक प्रहरी प्रमुख बमले जानकारी दिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


प्रतिक्रिया